☰ open Loading... 18 October 2024|  

सुदूरपश्चिमका छ नगरपालिकालाई दमकल
  | २२ कार्तिक २०७३, सोमबार १४:०१

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका छ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ ।

स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई रु ६० लाखका दरले रकम उपलब्ध गराएको हो ।

मन्त्रालयले बैतडीको पाटन नगरपालिकालगायत डडेल्धुराको परशुराम, कैलालीको अत्तरिया र घोडाघोडी, कञ्चनपुरको दोधारा–चाँदनी र झलारी–पिपलाडी नगरपालिका गरी सुदूरपश्चिमका छ नगरपालिकामा पनि दमकल खरिद गर्न रकम प्रदान गरिसकेको छ ।

सरकारले आगलागीबाट बर्सेनि यस क्षेत्रमा ठूलो धनमालको क्षति हुँदै आएको र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले दमकल खरिद गर्न रकम विनियोजन गरेको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए ।

“रकम आइसकेकाले खरिद प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ” उनले भने “मङ्सिर पहिलो हप्तादेखि खरिद प्रक्रिया अगाडि बढ्छ ।”

फागुन चैतसम्म दमकल आइपुग्ने समेत उहाँले बताउनुभयो । यसअघि बैतडीमा दशरथचन्द नगरपालिकासँग मात्र एउटा दकमल रहेको थियो ।

पाटन नगरपालिकामा दमकल आउने भएपछि आगलागीबाट हुने क्षतिको न्यूनीकरण कम गर्न सकिने कार्यकारी अधिकृत ओडको भनाइ रहेको छ ।

आगामी असार मसान्तभित्र दमकल खरिद गरी सक्ने गरी सुदूरपश्चिमका छ नगरपालिका गरी देशैभरिमा ३३ वटा नगरपालिकालाई रकम उपलब्ध गराएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।