☰ open Loading... 19 April 2024|  

दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन भएको खण्डमा हाम्रो प्रदेश सम्वृद्धि बाटोमा ठुलो छलाङ मार्न सक्छ ः रेग्मी
  | २३ कार्तिक २०७३, मंगलवार ११:४६

सुर्खेतलाई ६ नं प्रदेशको राजधानीको रुपमा हेरिएको छ । भर्खरै सुर्खेत
जिल्लाको स्थानीय तहको सीमांकन समेत सम्पन्न भई प्रस्ताव केन्द्रमा
पठाइसकिएको छ । माओवादी नेतृत्वमा बनेको सरकारले चैत्रमा स्थानीय तहको
चुनाव गर्ने योजना सार्वजनिक गरेको छ । पार्टी भित्रको आन्तरिक राजनीति र
देशको समसामयिक राजनीतिबारे नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज
रेग्मीसँग शेरबहादुर थापाले गरेको कुराकानी ः

kamal-dai

१)  कँग्रेसमा युवा पुस्ताको नेतृत्व गर्दै जिल्ला सभापति जस्तो प्रमूख पदमा निर्वाचित हुनु भएको छ । बुढाहरुको पार्टी भनेर चिनिने का“ग्रेसमा युवा पुस्ताले पार्टी संचालन गर्नु कत्तिको चुनौतीपूर्ण छ ?
हैन, काँगे्रस बुढाहरुको पार्टी भन्ने भनाइ मात्रै हो । धेरै युवाहरु काँग्रेसको नेतृत्वमा आइसके । सुर्खेतको नेतृत्वमा भनौँ या देश भरिको नेतृत्वमा भनौं युवाहरु बढी आएको अवस्था छ ।

अधिकांश जिल्लामा युवा सभापतिहरु आएका छन । यो प्रदेशको पनि एक दुइ बाहेक सबैमा युवाहरु नै सभापति भएर आएका छन । त्यसैले हामी युवाहरुले हिजोका बुढाहरुको धारणालाई सल्लाह र सुझावका रुपमा लिदैं समग्र रुपमा अगाडी जानुपर्छ अहिलेको समयको माग पनि हो । त्यसैले सधैं यो बुढाहरुको पार्टी भनेर भन्नुपर्ने कुनै म आवश्यकता देख्दिन ।

लामो समयसम्म स्थानीय चुनाव हुन नसक्दा, एकै व्यक्तिले लामो समयसम्म पार्टीको नेतृत्वमा बस्दा केहि समयसम्म पार्टी नेतृत्व उत्पादन हुन सकेन । मलाई लाग्छ अब आउने स्थानीय चुनाव लगायतका अन्य सबै चुनावहरुमा युवाहरुकै वर्चस्व कायम हुनेछ । छोटो प्रजातान्त्रिक अभ्यासमै हामीले लामो फटको मारिसक्यौं ।

यसको मुल स्प्रिट के हो भने अद्यावधिक निर्वाचन । यदि त्यसो भएमा मात्रै नेतृत्व यूवाहरुमा हस्तान्तरण हुँदै जाने हो । पार्टीका भातृ संगठनका पनि समयमै अधिवेशनहरु हुन थाल्यो भने युवाहरु नेतृत्वमा आउँछन ।

चुनौती छ । हामी सम्पूर्ण कुराहरुलाई त्यागेर राजनीति नै गर्नुपर्छ, समाजसेवा नै गर्नुपर्छ भनेर सबै सर्मपण गरेर नै लागेका व्यक्ति हुनाले सबै चुनौतिको सामना गरेर जानुपर्छ र म जान्छु पनि । मैले यो चुनौतिलाई अवसरको रुपमा परिणत गरेर अघि बढने प्रयत्न गरेको छु ।
२) यहा जिल्ला सभापतिमा विजयी हुनुभएको लामो समय भयो । पार्टी पदाधिकारी र सदस्यहरु चयन गर्न नसक्नुको कारण के होला ?

जिल्लामा मात्रै होइन केन्द्रमा पनि पदाधिकारी नियुक्त भएका छैनन । यो हाम्रो आन्तरिक कुरा छ । अर्को यसै वर्ष हाम्रा पार्टी सभापति शुसिल कोइरालाको देहान्त भयो ।

जसले हाम्रो पार्टीलाई अपुरणीय क्षति तुल्यायो । यहि बीचमा दशैं तिहार जस्ता पर्वहरु पनि आए । अब हामी निकट भविष्यमा नै पार्टी पदाधिकारी छनौट गछौंँ । थुप्रै जिल्लाहरुमा पनि पदाधिकारी छनौट भएका छैनन । भनेपछि केन्द्रमा पदाधिकारी छनोट भएपछि मात्रै
होइन । आफ्नो जिल्लामा आफैले निर्णय गर्नुपर्ने हो ।

केन्द्रलाई कुरेर बस्नुपर्ने भन्ने छैन । भनाइको मतलब पार्टी भित्रका अलिकति प्राविधिक कुराहरुले केन्द्र, अधिकांश बहुमत जिल्लामा पदाधिकारी छनोट हुन सकेको छैन । अब निकट भविष्यमा हामी टुंग्याएर जान्छौं । अब चाँडै हुन्छ ।

३} जिल्ला भित्र पूर्ण काग्रेस र थानी कांग्रेस भनी विभाजित काग्रेसमा नेपाली काग्रेस भन्नेको संख्या एकदमै कम छ र उनिहरु दबिएको अवस्थामा रहेका छन भनिन्छ । यसबारेमा तपाईको भनाई के छ ?

त्यो कुरा गलत हो । सबै काँग्रेस हुन । मात्रै कुरा के हो भनेपछि कोही मान्छे कार्यशैलीका कारण कोही एक सँग नजिक हुन्छ त कोही अर्कोसँग । जस्तो परिवार भित्रै हेरौं छोराले बढी बाबुलाई मन पराउँछ या आमालाई ।

त्यसैले त्यस्तो भनिएको हो । यो त नेपालको ठुलो प्रजातान्त्रिक पार्टी भएकाले काँग्रेसमा अरु पार्टी भन्दा धेरै स्वतन्त्रता छ । खुला छ । चित्त नबुझेका कुरा निर्धक्क राख्न पाइन्छ स्वतन्त्रताको भरपुर प्रयोग गर्न पाइन्छ भनेर आम मानिस काँग्रेसमा लागेका हुन । त्यसैले हजुरले भनेको जस्तो छैन । तर कोही कुनै नेताको कार्यशैली मन पराउलान कोही कुनै नेताको । त्यसैले सबै काँग्रेसका हुन, सबै काँगे्रसी हुन ।
४) पटक पटक तरुण दलको अधिवेशन स्थगन हुनुका पछाडि सैद्वान्तिक आधार भन्दा पनि डनहरुको दादागिरी रहेको बताइन्छ । डन–गिरिबाट तरुणदललाई मुक्त गर्न जिल्ला सभापतिको नाताले तपाइसग के–के योजनाहरु छन र?

यो लामो समय, मलाई लाग्छ १३ वर्ष जति भयो तरुण दलको अधिवेशन नभएको । यसले गर्दा नेतृत्वमा आउनका लागि साथीहरुका बीचमा होडबाजी होला त्यो आफ्नो ठाँउमा छ । तरुण दलको प्राविधिक कारणले मात्रै अधिवेशन स्थगित भएको हो । आगामी कात्तिक २३ गते विहान ८ बजे देखि नेपाली काँग्रेसको पार्टी कार्यालयमै निर्वाचन गर्ने भनेर निर्णय भइसक्यो र निर्वाचन हुन्छ ।

गाँउबाट चुनिएर आएका साथीहरुले कसको नेतृत्व छान्छन त्यो केहि दिनमै देखिएला । बाहिरबाट डनका कुरा कसरी आएका छन थाहा भएन । पार्टीभित्र ती कुरा आएका छैनन । बाहिर हेर्नेहरुले कसरी हेर्छन त्यो उनिहरुको कुरा हो यसमा मैले के भन्नु छ र ।
५)  तपाई निष्ठाको राजनीति गर्नुहुन्छ तर तपाईका भातृ संस्थाहरु अराजक मुन्द्रेहरुको हातमा गइरहेको छ भनिन्छ । के तपाईमा त्यस्ता व्यक्तिहरुलाई रोक्न सक्ने सार्मथ्य छ र?

सार्मथ्य छ । नेतृत्व त्यस्ताको हातमा जान हुदैन भन्ने कुरा छ । जान पनि हुदैन । बाहिर अन्य पार्टीहरुले आरोप लगाउने गर्छन तर ती भन्नेहरुका कुरा आफ्नै ठाँउमा होला तर पार्टी भित्र त्यस्तो छैन । हामी त्यस्तालाई रोक्छौं । जसले निष्ठा आदर्शको राजनीति गर्छन, जसले देश र जनताका निम्ति राजनिति गर्छन तिनले नेतृत्व पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

आदर्शलाई मानेर राजनीति गर्छन ति मान्छेहरु विजय भएको इतिहास छ । विपि कोइरालाले भनेका छन् –पार्टीमा कुनै दिन यस्तो बेला आउनेछ जुन दिन सुकिला, मुकिला चिल्लाहरु लुगा लगाउनेहरु हावि हुन सक्छन त्यसबाट पार्टीलाई जोगाउनुपर्छ ।

त्यसैले त्यो समय पटक पटक आयो काँग्रेसमा, तर धैर्यता, इमान्दारीता र निरन्तरता भयो भने जुनसुकै मान्छे पनि नेतृत्वमा जानसक्छ भन्ने कुरा प्रमाणित भइसक्या छ । त्यसैले पार्टी भित्र त्यस्तो हुन्छ जस्तो लाग्दैन । राम्रै हुन्छ जस्तो लाग्छ ।

६)  देश संघियता, धर्मनिरपेक्षतामा गैसक्दा पनि तपाईको पार्टीमा अलमल देखा परेको छ । के यो संविधान प्रतिको असहमति हो भनि बुझ्न सकिन्छ र?

काँग्रेस पार्टी अरु पार्टी भन्दा अलि बढी स्वतन्त्रता उपयोग गर्ने पार्टी र अलि बढी व्यक्तिगत स्वतन्त्रता हुनुपर्छ भन्ने पार्टी भएकाले पनि नेताहरुले व्यक्तिगत कुराहरु राख्नुभएको होला । उहाँहरुको व्यक्तिगत कुरा पार्टीका धारणा होइनन । पार्टीको कुरा भनेको पार्टीले महाधिवेशनबाट जे निर्णय गरेको छ तिनै कुराहरु आधिकारिक हुन ।

राजा फाल्ने, गणतन्त्र ल्याउने जुन दिन काँग्रेसले निर्णय ग¥यो त्यहि दिन गणतन्त्र आएको इतिहासले प्रमाणित गरेको छ नि त । काँग्रेस पहिले संवैधानिक राजतन्त्र मान्दै आएको पार्टी हो ।

राजालाई हामीले नै काँध हाल्दै आएका थियौं नि त । तर राजाले आफै निरंकुशताको काँध रोजे र गिरिजा बाबुले भन्नुभएको थियो हाम्रो काँध नथाक्दै राजा थाकिसके । त्यो कारणले देशको परिस्थिति परिवर्तन भयो ।

राजालाई काँग्रेसले काँधमा राख्दा राख्दै राजा बसेर थाके । म अब संवैधानिक भएर बस्न सक्दैन भनेर निरंकुश बनेपछि अव देश गणतन्त्रमा जानुपर्छ भनेर काँग्रेसले निर्णय ग¥यो । र त्यहि निर्णयका कारण देशबाट राजा हटाइयो र गणतन्त्र स्थापना भयो ।
त्यसैले गर्दा पनि काँग्रेस नीति सिध्दान्तमा चल्ने पार्टी हो । त्यसैले को ब्यक्ति, नेता कहाँ के भन्छन त्यसले खासै अर्थ राख्दैन ।
७)  जिल्लाको स्थानीय तह विभाजनमा साटाखानी बाहेक खासै विवाद देखिएन । तपाइको स्थानीय तह विभाजनमा कुन प्रकारको भूमिका रह्यो र ?
हामीले स्थानीय स्तरबाट जे निर्णय भएर आए त्यहि निर्णय हुबहु कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा राख्यौँ र सर्वसम्मत रुपमा हामीले स्थानीय तहको पुनर्संरचना ग¥यौं । साटाखानीको हकमा त्यसलाई पनि नगरपालीका बनाउने भन्ने हाम्रो योजना हो । साटाखानीको इच्छा वीरेन्द्रनगरमा आउने हुदाहुदै पनि उता जनसंख्या नपुग्ने प्राविधिक कारणले मात्रै त्यो निर्णय भएको हो ।

राजनीतिक दलको कारणले नभएर अरु गाविसका जनताले हामीले नगरपालिकामा बस्न नपाउने भन्ने आवाज उठाएकाले पनि त्यो निर्णय गर्न हामी बाध्य भएका हौं । त्यो नगरपालिका पनि कुनै रुपमा कम नहुने हाम्रो विश्वास छ ।
८ )  प्रदेशको प्रमूख पर्यटकीय गन्तब्य बन्न सक्ने रारातालमा पुग्नका लागी देश विदेशबाट हजारौं पर्यटकहरु आइरहेका छन । जसले यस प्रदेशको समृद्वको प्रमूख आधार खडा गर्न सक्छ । यो वाहेक जिल्ला भित्र रहेका अन्य पर्यटकीय क्षेत्रहरुको विकासमा तपाइको योजनाहरु के छ र?
अव यो स्थानीय निर्वाचन र प्रान्तीय निर्वाचन भयो भने संविधान पुर्णरुपमा कार्यान्वयन भएको मानिन्छ । अब यो प्रदेशको राजधानी भयो भने यो ठाँउको विकास गर्ने जिम्मा हाम्रो नै हुन आँउछ ।

विगतमा पनि जिल्ला विकास समिति मार्फत धेरैपटक विद्यापुरको जाजुरा दह र तरंगाको बराह ताललाई चमेरी गुफालाई पर्यटकीय गन्तब्यका रुपमा लैजानुपर्छ भनेर सडक सञ्जाल विस्तार गर्न थालेका हौं । र आज त्यहाँ सम्म ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । पर्यटनकालागि सडक विस्तार अभिन्न अंग हुदो रहेछ ।

अब हामी त्यो सडकको पुर्वाधारलाई अझ विकास गर्न सक्यौं भने आन्तरिक, बाह्रय पर्यटक ल्याउन हामी सफल हुनेछौं । र त्यसले हामी सबैको आयस्तरमा भारी बढोत्तरी हुन्छ र हामी सबल बन्न सक्छौं ।

 

९)  यस क्षेत्रका विकासका प्रमूख आधार स्तम्भहरु चौकुने सिमेन्ट कारखाना, तेलपानी भुरिगाउ सडक निर्माण, दैलेखको पेट्रोलियम पदार्थको उत्खनन, अपर कर्णाली जस्ता मेगा प्रोजक्ट समयमा सम्पन्न गर्न तपाई र तपाईको पार्टीको कस्तो भूमिका रहन्छ ?

अपर कर्णालीको विषयमा दुइ मतै छैन । पार्टीको धारणा पनि अपर कर्णाली चाँडै बनाउनुपर्छ भन्ने छ । हाम्रो पनि धारणा त्यहि हो । कसैले बनाउनु हुदैन भनेर बखेडा झिकेपनि अपर कर्णाली नबने सम्म हाम्रो यो क्षेत्रको विकास हुँदैन । चौकुने सिमेन्टको कुरा गर्दा त्यहाँ सडकको ट्रयाक खोल्ने काम हुदैछ ।

लगायतका विकास निर्माणका कार्यहरु निरन्तर प्रगतिमा छन । जस्तो सडकको ट्रया मुगुको रारा पुग्दा मात्रै त दैनिक ३ सय बढि आन्तरिक पर्यटक मेरै अगाडि रारा पुगे भने अब त्यो सडकलाई थप विस्तार गर्दै मानसरोवर सम्म लैजानुपर्छ । यसबारेमा हाम्रा नेता प्रकाशमान सिंह र माननीय मन्त्री हृदयराम थानीसँग कुराकानी पनि भयो ।

हामी सबैले हेयौं पनि । अब मानसरोवर जानकालागि पनि नाग्चालाग्नाबाट सहज हुने हामीले देख्यौं । र अब हामी त्यता कसरी जाने भन्ने तर्फ अग्रसर हुन्छौं । कर्णालीको फलफूल तथा अन्य कृषिजन्य पद्वार्थको उत्पादन र निकासी गर्न सफल भयौं भने हाम्रो यो प्रदेशको विकासमा धेरै ठुलो टेवा पुग्न सक्छ ।

त्यस्तै दैलेखमा पेट्रोलियम पद्वार्थको उत्खनन भएको खण्डमा हाम्रो प्रदेश सम्वृद्विको बाटोमा ठुलो छलाङ मार्न सक्छ । त्यसकालागि हामीले हरेक कोणबाट सरकारलाई दबाब दिइरहेका छौं । हाम्रा सुर्खेतका तिनै जना पुर्व मन्त्री, मन्त्रि र सांसदज्यूहरुले बारम्बार सरकार र सदनमा कुरा उठाउनुभएको छ । र दैलेखमा पेट्रोलियम पद्वार्थको उत्खनन गरिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
१०)  जिल्लाको विकासमा तपाईका अन्य योजनाहरु के–के छन् ?

सुर्खेतको विकासका लागि यहाँका सबै पूर्व मन्त्रीहरु, मन्त्रीहरु, संसदहरु अत्यन्तै लागिपर्नु भएको छ । जस्ते यहाँले देखिसक्नुभयो धुलियाविट देखि बागेंसिमल सम्म फोर–लेन बाटो तीव्र गतिमा बन्दै आएको छ । मलाई लाग्छ आगामी एक बर्षमा बनिसक्छ । त्यस्तै रिंग–रोडका लागि समेत टेण्डर आव्हान हुने प्रक्रियामा छ ।

हटलेन सडक आगामी वर्षसम्म बनिसक्छ । काँक्रेविहार मन्दिर तिब्र गतिमा निर्माण हुदैछ । यसरी हेर्दा संविधान कार्यान्वयन गर्न सकिएको खण्डमा आगामी पाँच वर्षभित्र यो प्रदेशको, सुर्खेतको मुहार हामी फेर्न सक्छौं । भुरिगाँउ तेलपानी सडक हाम्रो मन्त्री तथा सभासद ज्यूले त्यसका लागि थुप्रै पैसा छुट्याउनु भएको छ । मलाई लाग्छ दुइ वर्ष भित्रमा त्यो सडक पनि बन्छ ।

११)  अब राष्ट्रिय राजनीति तर्फ लागौं । तपाईका पार्टी सभापति रअ को डिजाइनमा हिडेको, एक चीन नीति विरुद्व दलाई लामाका सहयोगीलाई भारतमा भेटी चीनलाई चिढ्याउने नीति लिएको भन्ने भनाई बारे तपाईको धारणा के छ ?

कसले कहाँ भेट्यो भन्ने कुरा आफ्नो ठाँउमा छ । भन्नेले कहाँ के भन्छन त्यता तिर काँग्रेस लाग्दैन । उहां एक संस्थाको निमन्त्रणामा त्यहाँ जानुभएको छ । राजनिित गर्ने मान्छे विदेश गएपछि राजनीतिक भेटघाट गर्नु स्वाभाविक हो र भारत हाम्रो असल अत्यन्त घनिष्ठ छिमेकी भएकाले भारतमा जाने आउने सबै दलका नेताहरुले गर्छन ।

यो नयाँ कुरा पनि होइन । त्यहि कारण हाम्रा पार्टीका सभापति देउवाजि पनि भारत भ्रमणमा जानुभएको हो । र चीनको विरुद्वमा लागे भन्ने कुरा मिथ्या आरोप बाहेक केहि होइन । हामी भारत र चीनसँग घनिष्ट सम्वन्ध राख्ने नीति प्रतिदृढ छौं ।

१२)  प्रचण्डको पछि लागी जुनसुकै विषयमा पनि ल्याप्चे ठोक्ने शेरबहादुर देउवाले पार्टीलाई भडखालोमा हाले भनेर सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गर्ने बरिष्ठ नेता रामचन्द्र पौडेलसंग तपाई सहमत हुनुहुन्छ ?

बरिष्ठ नेता पौडेलले खाल्डामा हाले भन्नुमा उहाँले पार्टीमा केहि त्यस्तो समस्या देख्नु भएको होला । उहाँ दुरदर्शी नेता भएकै कारणले पार्टीलाई सहि दिशामा लिन सुझाव दिनुभएको होला ।

रामचन्द्र र देउवा चुनावमा लडेका कारण पनि देउवालाई सचेत बनाइराख्न र पार्टीलाई सहि दिशामा लैजान निरन्तर खवरदारी गर्दै आउनु भएका नेता पौडेलले त्यस्तो भने भनेर मलाइ लाग्दैन । पौडेल जी पार्टी र राष्ट्रका अति चिन्तनबादी नेता भएको कारण कतै दुर्घटनामा परिन्छ कि भनेर उहाँले चिन्ता मात्रै व्यक्त गर्नु भएको हो । हजुरले भनेजस्तो होइन ।
१३) राष्ट्रियताको सवालमा वर्तमान सरकार कहि कतै चुकेको अनुमान गर्नु भएको छ ?

सरकार राष्ट्रियताको सवालमा चुकेको छैन । बाहिर अनावश्यक हल्लाहरु विरोधीले त्यस्तो हुन्छ कि भनेर मान्छेलाई लाग्या मात्रै हो । सरकार चुकेको छैन ।

१४)  मधेशी मोर्चा र सरकार बीच सहमति भएको भन्ने हालै बाहिर आएको ड्राफ्ट प्रति सहमत हुनुहुन्छ ?

होइन होइन । प्रधानमन्त्री प्रचण्डले नै सो सहमति नभएको भनेर खण्डन गरिसक्नु भएको छ । र त्यस्तो कुरा यो सरकारले आधिकारीक रुपमा निर्णय गर्छ भन्ने मलाई लाग्दैन । यो प्रोपोगाण्डाका रुपमा बाहिर ल्याइएको पनि हुनसक्छ । यदि त्यसो भयो र अंगिकृत नागरिकलाई प्रमूख पदमा नियूक्ति दिने निर्णय हुन्छ भने म त्यसको विपक्षमा हुनेछु । त्यो हामीलाई मान्य छैन ।

१५)  राष्ट्रियता, प्रजातन्त्र र समाजवाद काग्रेसका मूख्य नारा रहदै आएका छन । जसमध्ये का“ग्रेसको हालैको महाधिवेशन पछि राष्ट्रियताको नारा कमजोर भएको, समाजवाद लाई रामशरण महतले समाप्त पारेको र कम्युनिष्टहरुको पछि लागी प्रजातन्त्र समेत २०७२ को संविधान मार्फत सिध्याएको आरोपबारे तपाइको धारणा के छ र?
यी सबै आरोपहरु झुटा हुन । विपि कोइरालाले समाजवाद भनेको समय अनुसार परिवर्तन गर्नुपर्छ भनेर भन्नु भा थ्यो । विपि कोइरालाले त्यो वेलामा प्रतिपादन गरेको समाजवाद र अहिलेको समयमा धेरै भिन्नता आइसकेको होला । कुरा त्यो हो ।

१५) लोकमान प्रकरणमा का“ग्रेसले के गर्ला रु महाभियोगलाई साथ देला त र?

काँग्रेसले समितिको प्रतिवेद आयो भने त्यसको अध्ययन गरे पश्चात उपयुक्त समयमा उचित निर्णय दिन्छ । अहिले सम्म काँग्रेस अनिर्णयको बन्दी बनेर बसेको इतिहासै छैन । तर अरुका जस्तो काचो, अपूर्ण निर्णय काँग्रेसले गर्दैन । काँग्रेसले गर्ने त्यो निर्णय राष्ट्र र राष्ट्रियताको पक्षमा हुन्छ ।

१६)  अन्त्यमा केहि भन्नु छ कि र?
म यहाँहरुलाई धन्यवाद दिन चाहन्छु कि जनतामाझ हाम्रो पार्टीको धारणा राख्न सिद्वदर्शन दैनिक मार्फत अवसर प्रदान गर्नुभयो । म यहाँको पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

साथै पत्रिकाले निष्पक्ष रुपमा सत्य र सहि सुचनाहरु जनमानस सम्म पु¥याउन सकोस कामना गर्दछु । र सबैलाई एकजुट बनेर यो क्षेत्रलाई विकासको दृष्टिमा एक बनेर अघि बढन अनुरोध गर्दछु ।