जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत निर्माण कार्य पूरा भएका सडकमा पुल निर्माण नहुँदा हैरानी भएको छ । यहाँको सदरमुकामदेखि त्रिवेणीसम्मको सडकमा ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भए पनि भेरी नदी तथा साना खोलामा पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या सिर्जना भएको हो ।
नेपाली सेनाद्वारा निर्माण कार्य जारी रहेको यो सडकको एक सय किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भई यातायात सञ्चालनमा आएको छ । बाँकी १८ किलोमिटर सडकखण्डको बीचबीचमा सडक निर्माणको काम भइरहेको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । सेनाले सडक निर्माण सम्पन्न गरिसकेको ठाउँमा समेत पुल निर्माण नहुँदा यात्रु सहज रुपमा यात्रा गर्न नपाएका हुन् ।
जाजरकोट र रुकुमखण्डको वैरीतालमा निर्माण कार्य थालिएको तीन वर्ष बिते पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । निर्माणको जिम्मा लिएको ठेकेदारले पुल निर्माण कार्य बीचैमा छाडेपछि काम अवरुद्ध भएको हो ।
काम छाडेका ठेकेदारलाई काममा फर्काउन कसैले ताकेता गरेका छैनन् । यो पुल निर्माणपछि मात्र रुकुमबाट जाजरकोट जान सकिन्छ । त्यस्तै नलसिंङ गाड नदीमा पुल नहुँदा अर्को समस्या भएको छ । यो ठाउँमा पुल नहुँदा जाजरकोटखण्डको पश्चिमी क्षेत्रमा यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ ।
खगेनकोटको खमाउरीखोला, त्रात्रगारखोला र ताँसुगाडमा पुल निर्माण हुन सकेका छैनन् । यी ठाउँमा कहिलेसम्म पुलका लागि बोलपत्र आह्वान हुन्छ भन्नेसम्म पनि थाहा नहुँदा थप अन्यौल भएको छ । जाजरकोटको भगवती र रुकुमको अनाह बीचमा रहेको भेरी नदीमा पुल नहुँदा सडक निर्माण भए पनि यातायात सोझै सञ्चालनमा चुनौती थपिएको सेनाले बताएको छ ।
त्यस्तै, रुकुमको दामाचौर, त्रिवेणी लगायतका ठाउँमा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा ठाउँठाउँमा फलामको तुइनमा झुन्ड्याएर यातायातका साधन वारपार गर्ने गरिन्छ ।
यसरी झुन्ड्याएर वारपार गर्दा हरेक पटक २० हजारभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको छ । यी ठाउँमा पुल निर्माण नहुँदा नेपाली सेनालाई सडक निर्माणमा आवश्यक पर्ने तेल, विस्फोटक पदार्थ, अन्य निर्माणका सामग्री ल्याउनसमेत निकै कठिन भएको पहाडीले बताए ।
निर्माण गर्न बाँकी रहेको सडक खण्डमा निकै चट्टान रहेका छन् । भेरी नदीको किनारैकिनार भएका कारण कडा चट्टान भएको हो । विस्फोटक पदार्थ बढी मात्रामा प्रयोग हुने भएकाले थप चुनौती आएको सेनाले बताएको छ ।
साभार :newsabihan