दाङको घोराहीमा रहेको चेतना महिला बिधालय नमुना बिधालयको रुपमा स्थापीत भएको छ । महिलाको नेतृत्वमा संचालनमा रहेको यस विधालयमा प्रिन्सीपलदेखि कार्यालय सहयोगी सम्म सम्पूर्ण महिलाहरुलाई नै भेट्न सकिन्छ ।
घोराहीमा रहेको चेतना महिला बिधालय उमेर पुगेका गृहणी महिलाहरुको सहयात्रि बनेको छ । २०६६ सालमा संचालनमा आएको यस बिधालयले अहिले नर्सरी देखि ७ कक्षा सम्म कक्षा संचालन गरेको छ ।
चेतना महिला विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थिका अनुसार यस विद्यालयमा बिधार्थीहरुको उमेर १३ बर्षदेखी बढिमा ७० बर्षसम्मको रहेको छ ।
छोरीलाई रजस्वला नहुदै कन्यादान गरिदिने त्यो समय,किताब भन्दा कामकाजलाई बढि प्राथमिता दिने भएकाले पनि बुवा शिक्षक हुदाहुदै पनि ४ कक्षामा अध्ययन गर्दागर्दै आफनो बिहे भएकाले पढ्ने सपना त्यतिवेला अधुरै रहेको थियो तर आजभोली यस विद्यालयले आफनो अधुरो सपनालाई पुरा गरेको छ भन्छिन,कक्षा ४ मा अध्ययनरत गैरागाँउका पार्वता पोख्रेल ।
उनको भन्दा अलि केही फरक अनुभव रहेको छ,बडहरा निवासी केशरा पोख्रेलको ५२ वर्षको उमेरमा बल्ल आजभोली फूर्सर्द हुनथालेको छ बसेरै दिन काट्नु भन्दा यहाँ आएपछि दुई चार अक्षर जान्न सकिने हुदा आफूलाई स्कुल आउन रमाइलो लागेको बताइन ।
यत्तिमात्र काहाँ हो र ? अंग्रेजी त्यति नआएपनि नेपाली पत्रपत्रिका फरर पढ्न आउने गरेकोे समेत उनी बताउछिन । आखाँ सम्बन्धि समस्या वा टाउको दुख्ने समस्या किन नहोस् तरपनि यो विधालय बृद्ध महिलाहरुको दुख सुख बिसाउने चौतारी बनेको छ ।
पढ्नलाई न त उमेरले छेक्दो रहेछ न त सिक्न खोज्ने जिज्ञासालाई समाजको बन्धनले बाध्दो रहेछ ,यहाँ पढ्न आउने हरेक महिला दिदिबहिनीहरुका आफना आफनै कथा अनि ब्यथाहरु छन् ।
त्यस्तै कथा बोकेकी मध्येकी एक हुनुहुन्छ ४४ वर्षकी घोराही नगरपालिका ११ निवासी यशोदा खनाल श्रीमान्ले अर्को श्रीमती भित्राएपछि माइतीको सहयोगमा आफूले छोरालाई मात्र साथमा लिएर संघर्षपूर्ण यात्रा (ब्यवसाय) सुरु गरिन ।
हाल उनले करोडौको ब्यापार गर्दै अाएपनि शिक्षा नहुदा कता कता मनमा केहि खड्केको जस्तो अनुभूति हुने गरेकाले दिउसो ११ बजेदेखि ३ बजेसम्म पढाई हुने यो स्कुलमा धाउदै अाएकी छन् ।
स्कुल आउन थालेदेखी अधिकांश गृहणी महिला दिदिबहिनीहरुमा केही न केही आफूमा परिवर्तन आएको अनुभव प्राय सबैसँग रहेको छ । त्यस्तै अनुभव गर्ने मध्येकी एक हुनुहुन्छ ३८ वर्षकी घोराही ११मा बसोवास गर्दै आएकी पिमा खनाल ।
‘संसार हेर्नलाई आँखाको ज्योतिले मात्र काहाँ पुग्छ र ज्ञानको ज्यति पनि त्यतिकै आवश्यक पर्दोरहेछ’ उनले भनिन् ‘३ जना छोराछोरीलाई पढाउदै अनि आफूपनि पढ्ने भएकाले घरमा त्यति पढ्न नपाएता पनि यस विद्यालयमा पढ्न आउन थालेदेखि कहिकतै जानुपर्दा होस् ,वा हिसाव किताव गर्दा होस् आफूलाई निक्कै सजिलो भएको छ ।’
मनमा ईच्छा र चाहना हुनेहो भने पढ्नलाई उमेरले छेक्दैन् भन्नेकुराको गतिलो उदाहरण बनेको छ । चेतना महिला विद्यालय यस विद्यालमा पढ्न आउने अधिकाशं गृहिणी महिलाहरुको छोराछोरी कलेज पढ्दै गरेका छन् ।
कत्तिपयका छोराछोरी जागिरे छन् त कत्तिपयका नातिनातिना नै कलेज पढ्ने उमेरका छन् तर यति हुदाहुदैपनि यि गृहणी महिलाहरुमा पढ्ने रहर निकै छ तर उमेरका कारणले गर्दा अन्य स्कूलमा पढ्न जान त्यत्ति सहज नहुने र आफूलाई पनि मन नलाग्ने भएकाले गर्दा यी महिलाहरुले ८ कक्षा सम्मको कक्षा संञ्चालन यसै स्कूल होस् भनि माग गरेका छन ।