☰ open Loading... 12 April 2024|  

विषयगत र तालिम प्राप्त शिक्षक अभावले बहिरा कक्षा संचालनमा सकस
  | १ मंसिर २०७३, बुधबार ०८:३०

कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रुपमा संचालनका लागि बिषयगत र तालिम प्राप्त शिक्षकहरुको अभाव भएपछि समस्या भएको हो ।

नेपाल सरकारको अवधारणा अनुसार २०६१ सालदेखि अनामनगरमा बहिरा कक्षा संचालन हुँदै आएको छ । हाल कक्षा १ देखि ७ सम्म सांकेतिक भाषाका माध्ययमद्धारा र कक्षा ८ देखि १० सम्म समाहित कक्षामा राखी अध्ययन अध्यापन कार्य संचालन हुँदै आएकोमा समाहित कक्षामा अध्ययन गर्ने बहिरा विद्यार्थीको शैक्षिक गुणस्तर कायम हुन नसकेपछि समस्या बल्झिएको छ ।

यहाँ ३३ जना बहिरा विद्यार्थी रहेकोमा बिषयगत शिक्षक अभावका कारण ५ जना शिक्षकले सबै बिषय अध्यापन गराउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक मिनराज शर्माका अनुसार जिल्ला शिक्षा कार्यालयबाट प्रति विद्यार्थी मासिक ३ हजारका दरले हालसम्म ३० जना बराबरको छात्रबृत्ति र सांग्रिला डिप्लपमेन्ट एसोसिएसन ललितपुर र आइएन एफ जुम्लासँग सहकार्य गरी आवासिय रुपमा बहिरा कक्षा संचालन भैरहेको छ ।

विभिन्न चुनौतिसँग सामाना गर्दै विद्यालयले हाल २ जना राहत, १ जना निजि र २ जना सांग्रिला र आइएनएफद्धारा संचालित शिक्षकको भरमा बहिरा कक्षा संचालन गर्नु परेको गुनासो प्रधानाध्यापक शर्माको छ ।

स्रोत साधानको अभावले अन्य जिल्लाबाट पढ्न आएका बहिरा बालबालिकालाई पठनपाठनको ब्यवस्था पुर्ण रुपमा मिलाउन नसकिएकाले सरोकारवाला निकायलाई सहयोग गर्न विद्यालयले आग्रह गरेको छ ।

बहिरा कक्षा संचालनका लागि विद्यालयमा कम्युटर, ओड्ने ओछ्याउने कपडा, दराज, र्याक, निर्माणाधिन आवासिय भवनमा कक्षा कोठा ब्यवस्थापनका लागि कार्पेट र पिपि फम लगायतका सामाग्रीको तत्काल समस्या रहेको शिक्षक देवेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

बहिरा बालबालिकाहरुलाई कुनै ठुलो रोग लाग्दा उपचारका लागि बजेटको अभाव रहेकाले उपचारमा छुट गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गर्ने विद्यालयले निर्णय गरेको छ ।

विशेष शिक्षा प्रतिबेदन सार्बजानिक कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देबकोटा, नगर अधिकृत केशवराज शर्मा, जिविस जुम्लाका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापा लगायत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधिहरुले निवेदन सहित कार्यालयमा आएमा सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।