☰ open Loading... 17 April 2024|  

डोल्पाका महिलाको स्वास्थ्य अवस्था नाजुक
  | १ मंसिर २०७३, बुधबार १५:११

कर्णालीका महिलाको जनजीवन ज्यादै कष्टकर छ । त्रिपुराकोटकी कालिका उपाध्याय यहाँका महिलाको जीवन बाह्रै महिना खेतबारीमै बित्ने बताउँछिन् । उनी कामको ध्याउन्नले चाडपर्व कतिखेर आउँछ, कतिखेर जान्छ भन्ने पत्तोसमेत नहुने बताउँछिन् ।

यहाँका महिलालाई घरको कामकाजले बिरामी पर्दा सिटामोल किन्ने फुर्सदसम्म नहुने उपाध्यायको भनाइ छ । जसले गर्दा उनीहरू दीर्घरोग पाल्न बाध्य छन् । यहाँका महिला चैतदेखि पुष–माघसम्म निरन्तर खेतकै कामकाजमा व्यस्त रहन्छन् ।

‘अत्यन्तै चिसो हिमपातमा पनि उनीहरू खेती–किसानीमा हुन्छन्,’ त्रिपुराकोट–१ का हरि सार्कीले पीडा सुनाइन् । ‘बिहान झिसमिसेमै चुलोचौको सकेपछि काममा निस्कन्छु । दिउँसो समय निकालेर खाना खान्छु । फेरि बच्चा पिठ्युँमा बोकेर काममा निस्कन्छु । निरन्तरको काम र असन्तुलित खानपानले शरीर सुक्दै गएको छ, के गर्नु जति काम गरे पनि वर्षभरि खान पुग्दैन,’ सार्कीले बताइन् ।

दलित महिलाहरू त प्रतिनिधि पात्र मात्रै हुन् । कर्णालीका सम्पूर्ण महिलाको पीडा उस्तै–उस्तै छ । महिला उत्थानका लागि भन्दै जिल्ला सदरमुकामका हरेकजसो घरमा गैरसरकारी संस्था पनि खुलेका छन् ।

karnali-660x279

तर, ती संस्था सदरमुकामबाट बाहिरिन सकेका छैनन् । जसले संस्था स्थापनाको कुनै उपलब्धि नभएको सरोकारवालाको बुझाइ छ । खाली यहाँका महिला, बालबालिकाको तस्बिर बेचेर डलर कुम्ल्याएको उनीहरूको आरोप छ ।

महिला सशक्तीकरणका लागि सरकारी तवरबाट नीति–नियम बने पनि व्यवहारमा उतार्न नसकिएको दलित अधिकारकर्मी मनबहादुर सार्कीले बताए । शरीरले थेक्न नसक्ने काम त्यसमाथि सास मात्र जोगाउने खानपानले उनीहरूको स्थास्थ्य अवस्था अत्यन्तै नाजुक भएको सार्कीको भनाइ छ ।

चेतनाको कमीले यहाँका महिला धुम्रपानको कुलतमा जकडिँदै छन् । जसले उनीहरूको स्वास्थ्य खतराको मुखमा पुगिरहेको । यहाँका महिला चुलोचौकोमा मात्र सीमित भएकाले हरेक प्रकारको विकास, निकास तथा राज्यको संरचनामा महिला सहभागिता कानुनमा मात्र सीमित रहेको स्थानीय युवा हिम हमालले बताए ।

परम्परागत प्रणालीबाट खेती गरिने हुँदा महिलाको जीवन झन् सकसपूर्ण बनिरहेको छ । एउटै खेतमा वर्षमा पाँचपटकसम्म खट्दा पनि यहाँबाट हुने उत्पादनले दुई महिना नपुग्ने उपाध्याय बताउँछिन् ।

एकातिर खेतबारीको कामको चाप अर्कोतिर महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा रहेकाले ग्रामीण महिला थप समस्यामा परेको गाविसस्तरीय महिला सञ्जाल त्रिपुराकोटकी अध्यक्ष दिलमाया विष्टले बताइन् ।

‘बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम र चुलोचौकोेसम्म महिलाले नै गर्नुपर्छ,’ विष्टले भनिन् । त्यसमाथि कणार्लीका दलित महिलाहरूको अवस्था झन् दर्दनाक भएको उनी बताउँछिन् । यो समुदायमा कलिलैमा विवाह गराइदिने प्रचलनले २० वर्ष नकाट्दै चार–पाँच बच्चाको आमा बन्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

यता, दलित संघका केन्द्रीय सदस्य राजीमान सार्की दलित समुदायको कमजोर आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले कापी–कलम किन्ने पैसासमेत नहुँदा कलिलै उमेरमा पढाइलेखाइबाट वञ्चित हुने गरेको बताउँछन् । चेतनाका हिसाबमा पनि यस क्षेत्रका महिला निकै पछाडि रहेको सार्कीले बताए ।

सामान्य लेखपढ पनि नहुँदा रोजगारीको अवसरबाट पनि वञ्चित रहँदै आएका छन् । नियमित आर्थिक स्रोत नहुँदा बिहान–बेलुकी छाक टार्न मजदुरी गर्नुको विकल्प नभएको उनी बताउँछन् ।

स्राेत नयाँ पत्रिका दैनिक