☰ open Loading... 20 April 2024|  

भारतबाट फर्कदै गर्दा बाटाेमै हत्या
  | २ मंसिर २०७३, बिहीबार ०९:१७

इलाका प्रहरी कार्यालय, सुलिचौर, रोल्पाले ज्यान मारेको आरोपमा दुईजना रोल्पाली युवालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन् ।

कात्तिक २६ गते मिझिङ–२ कझिङ, रोल्पामा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । पैसाको मोहमा परी उनीहरुले नै सुवेदीको ज्यान लिएको हुनसक्ने इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका प्रहरी निरीक्षक शशीधर अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार ती तीनजना युवा करिब छ महिना पहिले रोजगारीको लागि सँगै भारतकोे सिमला पुगेका थिए । कात्तिक २१ गते उनीहरु भारतबाट पुनः सँगै घर फर्किएको र मृतक सुवेदीलाई भालुबाङमै छोडेर आएको भन्ने बयान दिएपछि प्रहरीले थप आशङ्का गरेको छ ।

प्रनि अधिकारीका अनुसार उनीहरुले बाटोमै सुवेदीको हत्या गरी घर गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ भने अभियुक्त दीपक सुवेदीबाट भारु ३० हजार बरामद समेत गरेको छ ।

हालै पक्राउ परेका दीपक सुवेदी र मृतक सुवेदी नाताले एकै परिवारका काका भतिज भएको बुझिएको छ ।

स्राेत राजधानी दैनिक