☰ open Loading... 24 October 2024|  

पुरचौडीको खडीखेतमा पुग्याे गाडी
  | ८ मंसिर २०७३, बुधबार ११:२१

जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडीको पुरचौडी हाटमा रहेको खडीखेत बजारमा मङ्गलबार पहिलोपटक गाडी पुगेको छ ।  स्थानीय व्यापारीको आफ्नै लागतमा राताशिला मन्दिरदेखि खडीखेतबजार सम्मको सडक निर्माण गरेपछि गाडी पुगेका हुन् ।

खडीखेत बजारका ११ जना व्यापारीको पहलमा खडीखेतमा सडक पुगेको सडक निर्माण समितिका अध्यक्ष जनकराज जोशीले जानकारी दिए । “हाटको वसन्तपुर बजारसम्म सडक पुगेको र खडीखेतसम्म आफ्नै लगानी गरेर सडक निर्माण गरेको हो”, उनले भने, “पाँच लाखको लागतमा दुई किलोमिटर सडक निर्माण गरिएको हो ।”

खडीखेत बजारमा सडक पुगेसँगै आज पहिलोपटक जिपसमेत पुगेको छ । पहिलोपटक गाडी पुग्दा हर्षित भएको स्थानीयवासी लोकबहादुर बोहराले बताए ।

खडीखेत बजारमा जिप पुग्दा स्थानीय बासिन्दाले बाजागाजासहित फूलमालाले स्वागत गरेका छन् । साथै, सडक निर्माणका बेला जमिन उपलब्ध गराउने ३१ जना जग्गाधनीलाई समेत धन्यवाद ज्ञापन गरिएको सडक निर्माण समितिका अध्यक्ष जोशीले बताए ।