हात्तीले मचक्र्याई ल्यायो लालचडीका केला
रंगी मन विरंगी हुन्छ सम्झिल्याया बेला ।।
मध्य तथा सुदुर पश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । पहिले बनपाखाहरुमा गुञ्जने ठाडी भाकाहरु हराउँदै गएका र आजकाल पप लगायत अन्य संगीतमा पछिल्लो पुस्ता रमाउदै गएको छ । रात्रीयाममा लाग्ने मेलामा खेलिने न्याउली खेलहरुको संख्या ह्वात्तै घटेको छ ।
बढदो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीतलाई ओझेल पार्दैछ । गाँउहरु बजार र बजारहरु ठुला शहरमा रुपान्तरण हुदैगएपछि समाजमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दो छ । सँगसँगै देउडा गीत संगीतको प्रचलनमा समेत एकाएक ओरालोपन लाग्न थालेको देखिएको छ ।
मध्य तथा सुदुर क्षेत्रकै एक अदभुत कला तथा संस्कृतिलाई जोगाइराख्न अब युवा शक्ति अघि आउनुपर्ने अन्यथा यो संस्कृति पनि लोप भएर जाने लगामका देउडा पारखी तथा स्थानीय भाषामा खेलाउडा भनिने सर्वजित शाही बताउँछन ।
केहि बर्ष अघिसम्म आफूहरुले जात्रामा ठुलठुला खेलहरु खेल्ने गरेता पनि अहिलेको समयमा मादक पद्वार्थ सेवन गर्नेहरुको जमात अनि पश्चिमेली गीत संगीत मनपराउने युवाहरुको लतका कारण खेल नै खेल्न नसकिएको उनको गुनासो छ । एकातिर यो देउडा खेल तथा देउडा गीतले बजारमा त्यति चर्चा पाउदैन भने अर्कोतिर देउडा गाउने क्षेत्रका यूवाहरुले समेत गीत गाउनमा रुचि नदेखाँउदा अबको केहि समय पश्चात देउडा गीत एकादेशको कथा बन्नसक्ने उनले अनुमान गरे ।
कालेकाँडा अछामका देउडा गायक जनक कार्कीले केहि युवाहरुले मात्रै यो क्षेत्रमा सक्रियता देखाएर संस्कृति बचाउन नसकिने प्रस्ट पार्दै देउडा गीतहरुलाई पनि यसक्षेत्रका जनसमूदायले माया गरिदिनुपर्ने जनाए । उनका अनुसार देउडा गीत नै यस क्षेत्रको पहिचान भएको हुँदा युवाहरुले देउडा गीतको संरक्षण, सम्र्वद्वन र प्रचार–प्रसार गर्न लागिपर्नुपर्ने आवश्यकता देखिएको छ ।
सुर्खेतका पत्रकार प्रकाश अधिकारीले देउडा गीतलाई पहिलो प्राथमिकतामा राखेर संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरेको खण्डमा अलिकति भएपनि देउडाको प्रचारप्रसार हुनसक्ने सम्भावना औंल्याए । उनले एक्लै कोही कसैले देउडा गितको संरक्षण तथा सम्वद्र्वन गर्न नसक्ने भएकाले यसकालागि सरकारी तथा गैरसरकारी निकाय लागिपर्नुपर्ने खाँचो रहेको समेत व्यवस्थापन गर्ने, विभिन्न ठाँउमा प्रतियोगिताहरु आयोजना गर्ने र स्थानीय भाकामा गाउने कलाकारहरुलाई सम्मान गर्ने गरिएको खण्डमा देउडा संस्कारलाई जोगाइ राख्न टेवा पुग्ने उनको धारणा छ ।
दैलेख राकम कर्णाली स्थायी घर भएकी शर्मिला माझीले आफूहरु बनपाखामा जाँदा ठाडीभाका गाउने गरेकोमा अहिलेको पुस्ताले भने पप, हिन्दी लगायतका अन्य गीतहरु गाउन सुरु गरेको दुखेसो पोखिन । उनलाई यसरी विकासको नाउमा संस्कृतिको विनाश भएको मन परेको छैन । उनी भन्छिन ‘मेलामा ठाडी भाका गाँउदा समेत युवाहरुले खिसी काट्ने चलन बढेको छ ।’ यसरी आफ्नै संस्कृति र परम्पराको खिल्ली आफ्नै सामुन्ने उडाइएको देख्दा आफूलाई असाध्यै खल्लो लाग्ने गरेको उनको भनाई छ ।
यसरी आफ्नो संस्कार र संस्कृति देउडालाई हेला गर्दै अरुको नक्कल गरेर केहि दिन मनोरञ्जन त लिन सकिएला तर भावि सन्तानहरुलाई हामीले हाम्रो संस्कारको बारेमा के उत्तर दिने होला ?े गाविस सचिव भद्रबहादुर थापा आफै सोचमा परेका छन । उनले छोरा नातिहरुले आफूहरुको गीत संगीतको इतिहासबारे बुझ्न खोजेको बेला कसरी यो पुस्ताले उत्तर दिन सक्ला ? सोच्नैपर्ने घडी आइसकेको उनको ठम्याई छ ।
विभिन्न गीत संगीतकालागि क्लब, संघसंस्था खुलेता पनि ठाडी भाका, न्याउले खेल लगायतका देउडा संस्कृतिलाई जगेर्ना गर्ने तथा यसलाई बढावा दिदै सांस्कृतिक पर्यटनको रुपमा विकास गर्न सम्वन्धित निकाय कहिले लाग्ला ? त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।
– सिद्धदर्शन दैनिकमा प्रकाशित