सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ ।
पाँच नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् ।
चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् । पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्यूठानलगायतका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।
भूगोलका हिसाबले पहाड र तराई मिलेर तथा प्राकृतिक स्रोतसाधन, संस्कृति र सापिप्यता समेटिएका पाँच नम्वर प्रदेशलाई टुक्रयाउन नहुने धारणा उनीहरुको छ । बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रद्धर्शन भइरहेको छ ।
प्युठानमा रातभर अान्दाेलन
संविधान संशोधनमार्फत पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव सरकारले अघि सारेपछि प्युठानमा आन्दोलन चर्किएको छ । स्थानीय युवाहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । मंगलबार साँझ सरकारले पाँच नम्बर प्रदेश टुक्राउनेसहित चारबुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएलगत्तै राती नै प्युठानमा युवाहरुले राकेजुलुससहित प्रदर्शन गरेका हुन् ।
स्थानीय युवा अगुवा परिवर्तन देवकोटाका अनुसार युवाहरुले राति १२ बजेसम्म टायर बालेर नाराबाजी गर्दै सदरमुकाममा प्रदर्शन गरेका थिए ।
अनिश्चितकालीन अर्घाखाँची बन्द
सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ ।
पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थी घर फर्किएको देखिन्थ्यो ।
जिल्लावासी सबैको चासो र आवश्यकताको विषय रहेकोले बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।
उद्योगी, व्यवसायी तथा युवा विद्यार्थी बजार बन्द गराउन नहिँडे पनि स्वतस्फूर्तरुपमा बजार, गाडी तथा शैक्षिक संस्था बन्द रहेका छन् ।
अनलाइनहरूकाे सहयाेगमा