आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो ।
नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गराउनका लागि वुद्धिबहादुर र उनकी श्रीमतीले दबाब दिँदै आएका थिए ।
जग्गाको नामसारी गराउन देउमीले जेठा छोराका छोराछोरीको सहमति बिना गर्न नमानेपछि उनीहरूले आमाको हत्या गर्ने योजना बनाएका थिए ।
जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार कि म भिरबाट हामफालेर मर्छु भनेपछि आफूले आमाको हत्या गरेको वुद्धिबहादुरले अदालतको बयानमा स्वीकार गरेका थिए ।
आमाको हत्यापछि उनीहरूले घर नजिकैको बारीमा शवलाई गाडेका थिए । प्रहरीका अनुसार सुतिरहेकी आमालाई वुुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए ।
अरुले थाहा पाउलान भनेर वुद्धिबहादुरका श्रीमान्, श्रीमतीले लास गाडेको ठाउँमाथि तिरमिलो बेर्नाे पनि रोपेका थिए । गत साउन २२ गते आमालाई मारेर मकैबारीमा गाडेका वुद्धिबहादुरले २३ गते बिहान गाउँभरि आमा घरबाट हराएको हल्ला चलाएका थिए । आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए । देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
घटना भएको तीन हप्तापछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो । वुद्धिबहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे दुई वर्षको छोराका साथमा बर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिए ।
देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोरा बुहारीको पनि मृत्यु भइसकेको छ । देउमी जेठा छोराका दुईजना छोराछोरी पालेर बस्दै आएकोमा उनीहरू अध्ययनका लागि जिल्ला बाहिर गएपछि एक्लै बस्दै आएकी थिइन् ।
स्राेत राताेपाटी