☰ open Loading... 16 April 2024|  

लक्षित वर्गका लागि एक करोड विनियोजन
  | २० मंसिर २०७३, सोमबार १३:३७

जिल्ला विकास समिति रोल्पाले यस आव २०७३÷०७४ मा लक्षित वर्गका लागि रु एक करोड १८ लाख ७३ हजार रकम विनियोजन गरेको छ ।

जसअन्तर्गत महिलातर्फ रु ३६ लाख ५७ हजार, बालबालिकातर्फ रु ३५ लाख ४७ हजार र पिछडिएको वर्ग, दलित, जनजाति अशक्त अपाङ्गतर्फ रु ४६ लाख ६९ हजार प्रस्ताव गरिएको योजना शाखाका प्रमुख दीपककुमार डिसीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमले लक्षित वर्गका समुदायको जीवनयापन र आर्थिक स्थितिमा परिवर्तन ल्याओस् भन्ने उद्देश्यका साथ कार्यालयले बजेट विनियोजन गर्ने गरेको छ ।

यसरी लक्षित वर्गका लागि विनियोजन गरिएको रकम बर्थिङ सेन्टर निर्माण, महिला सामुदायिक भवन निर्माण, महिलाका लागि तयारी कक्षा सञ्चालन, बुटिक सञ्चालनसम्बन्धी तालिम, महिला पत्रकारका लागि सिर्जनात्मक उत्पादनसम्बन्धी कार्यक्रम, हिंसा पीडित महिलाका लागि आपत्कालीन आश्रयस्थल सञ्चालनका लागि सहयोग लगायतका विभिन्न क्षेत्रमा खर्च गरिने छ ।

त्यसैगरी बालबालिकाका क्षेत्रमा बालविवाह मुक्त गाविस घोषणाका लागि सहयोग कार्यक्रम, बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन, विद्यालय भौतिक पूर्वाधार कार्यक्रम, जिल्ला बाल सञ्जालको संस्थागत क्षमता विकास आदि विभिन्न क्षेत्रमा सो विनियोजित रकम खर्च हुनेछ ।

त्यसैसगरी पिछडिएको वर्ग दलित जनजातितर्फ छुवाछूत तथा बालिघरे प्रथा उन्मूलनका लागि कार्यक्रम सञ्चालन, वादी तथा गन्धर्व समुदायका लागि आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन, लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि विश्रामस्थल, अपाङ्गता भएका व्यक्ति तथा जनजातिका लक्षित वर्गका एकल महिलाका लागि आयआर्जन र सीपमूलक तालिम, छुवाछूत मुक्त गाविस घोषणाका लागि अन्तक्र्रिया कार्यक्रमलगायतका अन्य विभिन्न क्षेत्रमा रकम खर्च गरिने छ ।

जसका लागि प्रत्येक वर्ष सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेको सिलिङको आधारमा रकम विनियोजन गर्ने गर्दछ । डिसीका अनुसार जिविस अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आय र स्थानीय विकास शुल्कअन्तर्गत रही विभिन्न शीर्षकमा लक्षित वर्गको लागि रकम विनियोजन हुँदै आएको छ ।