☰ open Loading... 25 November 2024|  

संविधान कार्यान्वयन गर्न सरकार गम्भीर
  | २० मंसिर २०७३, सोमबार १३:४६

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बिहान भएको शिष्टाचार भेटका क्रममा उनले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए । भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उनले चासो राखेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकामा सन्तोष व्यक्त गर्दै अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट गरिन । “अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर पर्दैन” उनले भनिन ।