राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले संविधान जारी भएको करिब १५ महिना भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भई समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने सुझाव दिए ।
यथास्थितिमा विधेयक स्विकार्न नसकिने बताउँदै उनले भने–“विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् । ” उनले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले निर्धारित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट पारे ।