☰ open Loading... 10 September 2024|  

अस्पतालमा ढोका बिनाको शौचालय र पानी बिनाको बाल्टीन
  | २२ मंसिर २०७३, बुधबार १८:४१

सेती अञ्चल अस्पतालकाे दुर्दशा

सुदूरपश्चिमका बिरामीको उपचारका लागि आकर्षक मानिएको सेती अञ्चल अस्पताल दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गएको छ ।
विगत लामो समयदेखि अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन गर्नतिर अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिले ध्यान नदिँदा अस्पतालमा दुर्गन्ध बढेको हो ।

seti-zonal-h

अस्पतालमा रहेका शौचालयको सरसफाई नहुँदा ढलको निकास बन्द भएपछि दुर्गन्धले अस्पतालको वातावरण निकै प्रभावित भएको छ । प्रसूति गृहबाट निस्केको फोहोर जथाभावी फाल्दा बन्द भएको ढल निकास खोल्न ढिलासुस्ती भइरहेको छ । अस्पतालमा फोहोर जमेर दुर्गन्ध बढेपछि उपचारका लागि आउने बिरामी, स्थानीय व्यापारी, सर्वसाधारण, अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारी प्रभावित भएका छन ।

प्रसूति गृहबाट निस्कने दुर्गन्धित पानी तथा फोहोर अस्पताल हाताभित्र नै जमेको छ । ‘अस्पतालभित्र रहेको प्रसूति गृहमा पस्ना साथ दुगन्धले सास फेर्न गाह्रो हुन्छ,’ श्रीमतीको उपचार गराउन चौमालाबाट आएका जागेन्द्र केसीले भने, ‘श्रीमती पनि कहिले घर फर्कने भनेर छट्पटाइरहेकी छिन ।’

सम्बन्धित पक्षले बेलैमा चासो नदिँदा विगत लामो समयदेखि दुर्गन्धमा नै बसेर काम गर्नुपरेको सेती अञ्चल अस्पतालको प्रसूति गृहमा प्रयोगात्मक अभ्यासमा काम गरिरहेकी निलमा गजुमेलले बताइन । ‘अस्पतालको दुर्गन्धका कारण बिरामी कुर्न बसेका समेत बिरामी हुने गरेका छन’ उनले भनिन ।

अस्पतालको दुर्गन्धका कारण ४ दिनसम्म खाना नरुचेको सुत्केरी भाउजुको कुरुवा भएकी सम्झना केसीले बताइन । अस्पतालमा दुर्गन्ध फैलिएर काम गर्न नसक्ने अवस्था हुँदा पनि अस्पताल प्रशासनले चासो नदेखाएको स्वास्थ्यकर्मीको गुनासो छ ।

‘दुर्गन्धको बारेमा बारम्बार जानकारी गराएपनि अस्पताल प्रशासनले चासो दिँदैन,’ प्रसूति गृहमा कार्यरत कर्मचारी बताउँछन् । ‘चारैतिरको फोहोर देख्दा यो अस्पताल हो की फोहोर फाल्ने डम्पिङ साइड ? भन्ने सोध्न मन लाग्छ,’ धनगढी उपमहानगरपालिका–१५ उर्माका जुहारीलाल चौधरीले भने, ‘बिरामी बोक्ने स्टेचर, फोहोर फाल्ने डस्टबीन लगायतका कुनै सामानहरु गतिला छैनन ।’

अस्पतालमा खानेपानीको निकै समस्या रहेको उनले बताए । उनका अनुसार भएको एउटा धारा वरिपरि फोहोर रहेकाले धारामा गएर पानी पिउन नै मन लाग्दैन । अस्पतालमा रातिको समयको लागि बत्तिको राम्रो व्यवस्था समेत नभएकाले अन्धकारमै रात काट्नुपर्ने बाध्यता रहेको बिरामी कुरुवाको गुनासो छ ।

अस्पतालका शौचालयमा ढोका नै नभएकाले शौच गर्न समस्या हुने गरेको बिरामीले गुनासो गरेका छन् । अस्पतालमा भएका शौचालय एकदमै दुर्गन्धित अवस्थामा रहेको र पानी नहुँदा शौचालय बाहिरै दिसापिसाब गर्ने गरिएकाले अस्पताल परिसर नै दुर्गन्धित भएको फूलवारीकी शारदा सिकेले बताइन । उनले भनिन, ‘अस्पतालमा शौचालय छ । शौचालयको ढोका छैन । शौचालयभित्र बाल्टी राखिएको छ तर पानी छैन ।’

सेती अञ्चल अस्पतालको चारैतिर फोहोरै–फोहोर थुपारिएको भएतापनि अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिको चरम लापरवाहीको कारणको कारण लामो समयदेखि फोहोर व्यवस्थापन हुन सकेको छैन । फोहोरबारे बुझ्न सेती अञ्चल अस्पतालमा जाँदा मेडिकल सुपरिन्टेन्डेन्ट सूर्यबहादुर गुरुङ भेटिएनन् ।