आज ६८ औँ विश्व मानव अधिकार दिवस मनाइरहँदा बैतडीमा छ महिनाको अवधिमा ३० वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् ।
विसं २०७३ असारदेखि हालसम्म जिल्लामा ३० वटा मानव अधिकार उलङ्घनका घटना भएको तथ्याङ्क मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीले जनाएको छ ।
छ महिनाको अवधिमा महिलालाई मानसिक यातना दिएका छ, महिलालाई कुटपिट गरेका १९, जबर्जस्तीकरणीका एक, जबर्जस्तीकरणी उद्योगका एक, महिलालाई घरबाट निकालेको अर्थात पालनपोषण नगरेका एक र महिला हत्याका दुई वटा घटना भएका इन्सेक प्रतिनिधि नरु बडूले जानकारी दिए ।
सन् २०१६ जनवरीदेखि हालसम्म जिल्लामा १०८ जना महिलाले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गराएका छन् । यस्तै जनवरीदेखि हालसम्म जिल्लामा १७ महिला, १३ पुरुष र एक बालकले आत्महत्या गरेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समीक्षा पुस्तक पनि हालै सार्वजनिक गरेको थियो ।