☰ open Loading... 19 April 2024|  

अवैध काठ ओसार्ने सात महिला पक्राउ
  | २६ मंसिर २०७३, आईतवार १७:३०

जिल्ला वन कार्यालय सुर्खेतले अवैध काठ ओसार पसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ वामेखोला क्षेत्रबाट सालको चिरान काठसहित वन कार्यालयले सात जनालाइ पक्राउ गरेको हो ।

pakrau
आइतबार विहान करिव २ बजेतिर वन कार्यालयका कर्मचारीले विशेष सुराकीका आधारमा पक्राउ गरेको वन कार्यालय वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।

२० थान चिरान काठसहित पक्राउ पर्नेमा वीरेन्द्रनगर २० का विनिता सुनार, नन्दी खड्का, शान्ति चौधरी, गीता सुनार, देविसरा रावत, पवित्रा बस्नेत र जाजरकोट घर भएकी सर्मिला रावल छन् ।

२० थान काठको बजार मुल्य करिव एक लाख मुल्य पर्ने अधिकृत विष्टको भनाई छ । प्रारम्भीक अनुसन्धानमा उनीहरुले सोही ठाउँ निवासी रेशक कार्कीले ज्याला दिने आश्वासनमा काठ ओसार पसार गरेको खुलेको विष्टले जानकारी दिए । यसबारेमा थप अनुसन्धान जारी रहेको कार्यालयको भनाई छ ।

उनले अनुसन्धानको क्रममा कार्कीलाई पनि बोलाएर छानविन गर्ने बताए । अवैध काठ ओसार पसार गर्ने उनीहरुलाई ६ महिना कैद र २० हजार ८ सय रुपैयाँ जरिवना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।