☰ open Loading... 23 December 2024|  

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण
  | ३० मंसिर २०७३, बिहीबार १४:३५

डडेल्धुरा । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ ।

यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा दुईवटा स्टिल ट्रस र छवटा झोलुङ्गे पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

पुल निर्माण गर्ने क्रममा समैजी गाविसको सौकाण खोला र गाँखेत गाविसको ऐरी खोलामा स्टिल ट्रसपुल र अन्य अशिग्रामको कोटगाणे खोला, परशुराम नगरपालिका जोगबुढाको गाईबाँधेखोला र पनपा शीर्षको आनातोलीखोला, मष्टामाडौँको कुइतणाखोला, गणेशपुरको गर्ता (फिन्नेकोट) खोला र रुपालको चाडीखोलामा झोलुङ्गे पुल निर्माण भइरहेको झोलुङ्गे पुलका फोकल व्यक्तिसमेत रहेका सहायक सवइन्जिनियर भण्डारीले जानकारी गराए ।

स्थानीय खोलामा पुल निर्माण कार्यले विद्यार्थी, बालबालिका र सर्वसाधारणलाई आवतजावतका लागि सजिलो हुनाका साथै वर्षाको बेला खोलाले बगाउने र अकालमा ज्यान गुमाउनुसमेत नपर्ने भन्दै स्थानीय उपभोक्त हर्षित भएका छन् । जिल्लाको धेरै खोलाहरु र नदिमा पुल निर्माण हुन थाले पछि खोला तर्नसमेत सजिलो हुने सर्वसाधारण बताउँछन् ।