उद्टघाटन भइसकेकाे पुल पुनः उद्घाटन गरिँदै
कालिकास्थान (अछाम) । गत असार पहिलो साता नै मध्यपहाडी राजमार्ग अन्तरगत दैलेखको साई खोला र अछामको कालिकास्थान गाविसको टोड्केसाल स्थित कर्णाली पुलको उद्घाटन गरिएको थियो ।
वर्षातले कर्णाली बढेपछि गत असारमै निर्माण सम्पन्न भएको पुल एक समाहरोविच सवारी आगमन लागि खुल्ला गरिएको थियो । दैलेख र अछामका कन्याहरुले एक समाहरोहविच संयूक्त रुपमा पुजा गरेपछि सवारीसाधनहरु सञ्चालनमा ल्याईएको हो । उद्घाटनमा ठुलो खर्च गर्ने परम्परालाई तोड्दै स्थानीयले सामान्य रुपमा पुजा गरेर गाडी संञ्चालन गरेका थिए ।
तर, पाँच महिनापछि उद्घाटन भइसकेको पुललाइ यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखक आज (शुक्रबार) पुनः उद्घाटन गर्न हेलिकप्टर चढेर अछामको टोड्केसाल पुग्दै छन् ।
सुदूर जोड्ने दोस्रो ढोका
अछाम सदरमुकाम मंगलसेन पुग्न कोहलपुरबाट वर्दिया, अत्तरिया (कैलाली), डडेल्धुरा, डोटी हुँदै यात्रा गर्दा ४ सय ६० किलोमिटर सडक पार गर्नुपर्छ । सुदुरपश्चिम छिर्ने एक मात्र नाका कर्णाली चिसापानी पुल हो ।
बैकल्पिक मार्ग नहुँदा सुदूरका पहाडी जिल्लामा यहि सडक भएर जानुपर्ने बाध्यता रहदै आएको थियो । तर, मध्यपहाडी लोकमार्ग राजमार्ग अन्र्तगत दैलेखको साई खोला र अछामको कालिकास्थान गाविसको टोड्केसाल जोड्ने पक्की पुल निर्माण सम्पन्न गरी संञ्चालनमा ल्याईएपछि सुदूरका पहाडी जिल्लाहरुको विकासको ढोका खुलेको छ ।
अव, कोहलपुरदेखी सुर्खेत दैलेख हुँदै अछामको मंगलसेन पुग्न २ सय ४० किलोमिटर मात्रै सडक पार गर्नेपर्छ । मध्यपहाडी लोकमार्गका ईन्जिनियरहरुका अनुसार नयाँ पुल सञ्चालनमा आएसंगै कोहलपुर हुँदै अछाम सदरमसकाम मंगलसेन पुग्न सुदुरका पहाडी जिल्लाबासीहरुलाई अव, २ सय २० किलोमिटर छोटो हुनेछ ।
प्रत्यक्ष रुपमा अछाम, बझाङ, बाजुरा, डोटी जिल्लाका नागरिकलाई यो सडक हुँदै राजधानी काठमाडौं जान छोटो हुनेछ । ‘सुदूरका पहाडी जिल्लाहरु कर्णालीमा पुल नहुँदा टापुजस्तै थिए ।’ अछामका पुर्व सांसद रामबहादुर विष्टले भने, लोकमार्गले पुल बनाईदिएपछि यहाँका पहाडी जिल्लाहरुको भविष्य खुल्यो । विकासको ठुलो ढोकाका रुपमा यो पुललाई लिईएको छ ।’
यहाँका स्थानीयहरुलाई निकै घुमाउँरो सडक छिर्चोलेर अछाम, बाजुरा, बझाङ र डोटी जिल्लाबाट अत्तरिया हुँदै कोहलपुर आउनुपर्ने बाध्यता थियो ।
पुलको ३ वर्ष निर्माण सम्झौता अवधि भएपनि विविध कारणले दुई वर्ष थप गरेर निर्माण सम्पन्न भएको मध्यपहाडी लोकमार्गका ईन्जिनियर शेखर योगीले बताए ।
उनका अनुसार १८ करोडमा सपना निर्माण सेवा हेटौडाले निर्माणको जिम्मेवारी लिएको थियो । ‘सुदुर जोड्ने कर्णालीमाथि बनेको यो दोस्रो ठुलो पुल हो ।’ मध्यपहाडी लोगमार्गका मंगलसेन– ठाँटीकाँध सडक खण्डका ईन्जिनियर तुलाराम शर्माले भने, ‘यो सडक खण्डबाट कोहलपुर पुग्न २ सय २० किलोमिटर छोटो सडक पर्छ । पुल २ सय मिटर लामो छ । पुलको एक भाग टस्ट जोडेर बनाईको छ भने ५ भाग ढलान गरिएको छ ।’