☰ open Loading... 26 July 2024|  

सोलारबाट आगलागी हुँदा घर जल्यो
  | १ पुष २०७३, शुक्रबार १२:५९

जाजरकोट । यहाँको एक दलित परिवारको सोलारबाट भएको आगलागीका कारण घर पूर्णरुपमा जलेपछि विचल्ली भएको छ । जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए ।

जीतबहादुरका बच्चाले सोलारको तार शुक्रबार बिहान चलाउँदा माइनस, प्लस जुध्दा घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । पुसको चिसो र घरमा कपडा सिलाएबापत उठाएको अन्न र घर सबै जलेपछि परियार परिवार विचल्लीमा परेको छ । जाजरकोटमा रामीडाँडा गाविसमा सबैभन्दा बढी चिसो हुने गर्दछ ।

अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्ने परियारलाई अब घर बनाउने र सबै जहान कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । अब दैनिक कपडा सिलाउने मेसिन पनि जल्दा गरिखाने हातै भाँचिएको उनको भनाइ छ ।

स्राेत ः राताेपाटी ः रासस