☰ open Loading... 16 September 2024|  

तरकारी खेतीका लागि पन्ध्र युवालाई नौ लाख अनुदान
  | ५ पुष २०७३, मंगलवार १८:१८

कञ्चनपुर । युवा जनशक्तिलाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक तरकारी खेतीका लागि १५ युवालाई रु नौ लाख अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको छ ।

स्वदेशमै व्यावसायिक तरकारी खेती गरी रोजगारीका अवसर सिर्जना गर्न कार्यालयले युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत रु ६० हजारका दरले अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको हो ।

व्यावसायिक तरकारी खेतीका लागि विदेशबाट फर्केका, विदेश जाने इच्छा देखाएका, विपन्न, दलित, द्वन्द्वपीडित, तरकारी खेतीबारे तालिम लिएका, बजार व्यवस्थापन गर्न सक्ने र गत वर्ष तरकारी खेतीका लागि आवेदन दिएर छनोटमा नपरेका युवालाई छनोट गरी अनुदान रकम उपलब्ध गराइएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत, यज्ञराज जोशीले बताए ।

व्यावसायिक तरकारी खेतीका लागि कार्यालयमा ४३ युवाले आवेदन दिएकामा १५ युवा छनोटमा परेका र उनीहरुले एक बिगाहा खेतमा हिउँद र वसन्त याममा अनिवार्य तरकारी खेती गर्नुपर्ने गरी तालिम दिइएको अधिकृत जोशीले बताए ।

सोही कार्यक्रमअन्तर्गत आव २०७१÷७२ मा ७२ युवालाई रु ६० हजारका दरले व्यावसायिक तरकारी खेतीका लागि अनुदान रकम उपलब्ध गराइएको थियो भने आव २०७०-७१ मा ४० युवालाई तरकारी खेतीका लागि अनुदान रकम उपलब्ध गरिएको थियो ।

कञ्चनपुरमा चार हजार २७० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ५३ हजार ८३४ मेट्रिक टन तरकारीउत्पादन हुँदै आएको छ । युवा लक्षित व्यावसायिक तरकारी खेती कार्यक्रम सुरु गरिएपछि यस वर्ष तरकारी खेतीका लागि ३० बिगाहा जग्गा बढ्ने भएको छ ।