☰ open Loading... 23 November 2024|  

पुल त बन्यो, सडक बनेन
  | ८ पुष २०७३, शुक्रबार ०९:५९

जाजरकोट । जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो ।

यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन । उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस्, कसले बनाउने भन्नेमै विवाद देखिन्छ ।

६ सय मिटर दूरीको सडक सम्बन्धित निकायले बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको स्थानीयवासी जीवन खड्काले बताए । “सडकको रिम्नास्थित भेरी नदीमा १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्मको बाटो बनेन,” खड्काले भने ।

रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौँले २ वर्ष लगाएर पुल बनाएको हो । खलङ्गादेखि रिम्ना र छेपारेदेखि तल्लुबगर हुँदै त्रिवेणीसम्मको सडकमा यात्रु आउजाउमा सहज भएको छ ।

तर छेपारेसम्म सडक निर्माणमा बेवास्ता हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिनाइ भएको उनको भनाइ छ । “यो खण्डको सडक किन बन्दैन ? निर्माण जिम्मा कसको हो ? सडक नेपाली सेना र पुल निर्माण कम्पनीमध्ये कसले, किन ढिला गरेको हो ?”, उनले भने ।

यस बाटोमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री जनार्दन शर्मादेखि विभिन्न दलका नेता कार्यकर्ता र कर्मचारी खलखली पसिना चुहाउँदै हिँडेका छन् । सडक बनाउन भने कसैको ध्यान नगएको खड्काले भने । ६ सय मिटरको उक्त बाटोमा प्रतिक्विन्टल एक हजारसम्म ढुवानी खर्च लाग्ने गरेको व्यापारी दिनेश ओलीले बताए । “बाटो साँगुरो, भिरैभिर र अप्ठ्यारो हुँदा आवतजावत गर्न र मालसमान ढुवानीमा कठिनाइ छ,” उनले भने ।

दुईतिर यातायातका साधन गुड्छन् । बीचमा पैदल हिँड्नुपर्ने बाध्यता भएको उनले बताए । नेपाली सेनाले जाजरकोट—डोल्पा सडकअन्तर्गत जाजरकोट खण्डको निर्माण पूरा गरेकै ३ वर्ष पुग्यो ।

सेनाले रिम्ना पुल छेउदेखि छेपारेसम्मको निर्माणलाई पन्छाउँदै आएको छ । त्यस्तै, पुल निर्माण कम्पनीले पनि पहुँचमार्ग निर्माणमा ढिलाइ गरेको र सडक डिभिजन, चौरजहारीले बेवास्ता गरेको पाइएको छ ।

पुलको पल्लो छेउ (छेपारे साइड) को एकसय ५० मिटर मात्र पहुँचमार्ग निर्माण अनक लुम्बिनी जेभीको जिम्मा भएको कम्पनीका इन्जिनियर दिनेश श्रेष्ठले बताए ।

दैनिक नेपाल