☰ open Loading... 16 September 2024|  

दिपायल विमानस्थल कालोपत्रेको काम सुरु
  | ८ पुष २०७३, शुक्रबार १०:०३

डोटी । विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए ।

विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिए । “कालोपत्र गर्नका निम्ति अधिकतम रुपमा गिट्टीको आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने कार्य भइरहेको छ”, अधिकृत रेग्मीले भने । विमानस्थल कालोपत्रको कार्य द्रुतगतिमा अगाडि बढ्ने समेत रेग्मीले बताए ।

सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्र गरिरहेको विमानस्थलमा करिब रु पाँच करोड ५० लाखको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्जसमेत रहेका अधिकृत रेग्मीले जानकारी दिए । करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ ।

सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा अवस्थित विमानस्थल कालोपत्र हुँदा यहाँका जनतामा हर्ष छाएको छ । १० वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले ठूलो मिहेनत गर्नु परेको बताए ।  डोटेली जनताको माया र स्नेहले आफूलाई विकास गर्नका निम्ति थप उत्साह दिएको उनकाे भनाइ छ  ।

अबका दिनमा विमानस्थललाई नियमित सञ्चालनका निम्ति त्यहाँका जनताले सहयोग गर्नुपर्नेमा आलेमगरको जोड रहेको थियो । सुदूरपश्चिमको मुटुमा रहेको विमानस्थल कालोपत्र हुने भएपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला लगायतका जनतालाई सहज हुने देखिएको छ ।