☰ open Loading... 19 September 2024|  

राष्ट्रिय जनावर कस्तुरी राख्न माग गर्नेे ६ जना पक्राउ
  | ११ पुष २०७३, सोमबार २०:५३

सुर्खेत । राष्ट्रिय जनावार गाईको सट्टा कस्तुरी राख्न र राष्ट्रिय झण्डा परिवर्तन गर्न माग गर्दै बजारमा पर्चा–पम्पलेट टाँस्दै हिँडेका मंगोल नेशनल अर्गनाइजेशनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगोल अर्गनाइजेशनको २८ औं स्थापना दिवस तथा सुर्खेत जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा पर्चा–पम्पलेट टाँस्दै हिँडेका छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेत जिल्ला अध्यक्ष नरबहादुर दर्लामीमगर, जिल्ला सचिव नरबहादुर खप्तडीमगर, जिल्ला सदस्य रुपेन्द्र घर्तीमगर, भेरीगंगा नगरपालिकाका नगर अध्यक्ष हरिबहादुर घर्तीमगर, वीरेन्द्रनगर नगरपालिकाका नगर अध्यक्ष पदमबहादुर लामिछानेमगर र सचिव प्रेम सलामीमगर छन् ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी बहादुरजंग मल्लले हिन्दू संगठनका कार्यकर्ताले पक्राउ परेर नगर प्रहरीलाई बुझाएपछि सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए ।

‘गौहत्याको विरोधमा छलफल गरिराखेका युवाहरु भएको ठाउँमा पुगेर मंगोलियनका कार्यकर्ताहरुले राष्ट्रिय जवानार गाईको सट्टा कस्तुरी राख्नुपर्ने र राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने कुरा गरेपछि उनीहरुले पक्राउ गरेर नगर प्रहरीलाई बुझाएका रहेछन्’ उनले भने, ‘मंगोलियन कार्यकर्ताकै सुरक्षाका लागि हामीले प्रहरी कार्यालयमा राखेका छौं ।’ उनले पक्राउ परेकाहरुलाई मंगलबार छोडिने बताए ।