☰ open Loading... 16 September 2024|  

हराएको चार महिनापछि बालकको उद्दार
  | १२ पुष २०७३, मंगलवार ०९:२२

बर्दिया । भारतको बहराइच जिल्ला स्थितको रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई बाँकेको एक संस्थाले उद्दार गरेको छ ।

child
बर्दियाको गुलरिया नगरपालिका बडा नं १२ टेपरी स्थायी घर भएका ९ बर्षिय अजय वि.क.लाई भारतको बहराइच जिल्लामा अलपत्र परेको अवस्थामा भारतमा बालबालिका क्षेत्रमा कार्यरत देहात संस्थाले उद्दार गरि बाँकेमा कार्यरत केआई नेपाल बाँकेको संयोजनमा उद्दार गरिएको हो ।

मानव बेचविखन क्षेत्रमा बिगत केहि बर्ष देखि कार्य गरिरहेको केआई नेपालले बालकको बिषयमा जानकारी पाए लगत्तै बर्दिया स्थित महिला तथा बालबालिका कार्यालय बर्दियामा जानकारी गराई बालकको उद्दार गरिएको जानकारी केआई नेपाल बाँकेका प्रमुख राधिका गिरीले बताइन ।

उद्दार गरिएका बालकलाई महिला तथा बालबालिका कार्यालय बर्दियाले आज बालकका आमा दिलमा वि.क.लाई जिम्मा लगाएको छ । ‘भदौ २० गते स्कुलबाट बिदा भए पछि खेल्न जान्छु भनि गएको थियो, तर फर्केर आएन । त्यो दिन छोराको हरेक साथीको घरमा खोज्न गए तर छोरा नभेटिएको बालकका आमा दिलमाया वि.क.ले बताइन ।

बालकका भदौ २० गते हराएको छोरा फेला नपरे पछि अजयका परिवार जनले जिल्ला प्रहरी कार्यालय बर्दियामा, महिला तथा बालबालिका कार्यालय बर्दिया लगाएतका संघ संस्थाहरुमा छोरा हराएको उजुरी दिएका थिए ।

बर्दिया गुलरिया नगरपालिका बडा नं १२ टेपरी गाँउबाट ४ महिना देखि हराएको बालक भारतको बहराइच जिल्लाको रेल्वे स्टेशनमा फेला पारी भारतको देहात संस्थाले उद्दार गरि नेपालको बाँकेमा रहेको केआई नेपाल बाँकेको संयोजनमा बर्दियामा परिवार जनलाई जिम्मा लगाईएको जानकारी महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा बस्नेतले बताइन ।

यस आर्थिक बर्षको हाल सम्ममा २६ बालबालिका हराएको उजुरी परेका छन् । जसमा बालिका १० र बालक १६ रहेका छन । हाल सम्म २० जना बालकालिका फेला परेका छन । अझै ६ जना बालबालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक चक्र बहादुर डम्वरपालले जानकारी दिए ।

पछिल्लो समय बालबालिकाहरु समान्य झगडा हुँदा साथीभाईको लहलहैमा लागेर पनि घर छोडी भारत जाने र विभिन्न शोषणमा पर्ने गरेका छन् । यसरी जानेहरु बेचविखनको उच्च जोखिममा पर्ने गरेको बालबालिका कार्यालय बर्दियाका प्रमुख बस्नेतले भनिन् ।