☰ open Loading... 7 September 2024|  

सोह्र करोडको लगानीमा खानेपानी योजना
  | २४ पुष २०७३, आईतवार ०९:३४

सल्यान । जिल्लाको सदरमुकाममा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ । साना सहरी विकास कार्यक्रममार्फत शारदा नगरपालिका–२, ३ मा पर्ने सल्यान सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या समाधान हुने भएको हो ।

लामो समयदेखि खानेपानीका लागि सास्ती झेल्दै आएका सदरमुकामवासीले आगामी माघ दोस्रो हप्तादेखि सास्ती व्यहोर्नु नपर्ने खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष तथा उपभोक्ता समिति खलङ्गाका उपाध्यक्ष केशव बुढाथोकीले बताए ।

आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको र पुसको अन्तिमसम्ममा पाइपलाइनमा परीक्षण गरिने बुढाथोकीले जानकारी दिए । शारदा नगरपालिका–२ शीतलपार्टीको शारदा नदी नजिकैबाट बोरिङ गरेर लिप्ट प्रणालीद्वारा ५०० मिटर उचाइमा रहेको सदरमुकाम बजारमा पानी पु¥याएर वितरण गरिने छ ।

आयोजनाबाट नगरपालिकाभित्र पर्ने १, २ र ३ वडाका एक हजार २५६ परिवारले सहज रुपमा खानेपानी पाउने छन् । साथै सदरमुकाममा बसोबास गर्ने र बाहिरबाट आएका कर्मचारी गरी १० हजार लाभान्वित हुने छन् ।

सदरमुकाममा दैनिक ७५ हजार लिटर पानी आवश्यक भए पनि पानी नहुँदा सल्यान, खलङ्गा सदरमुकामवासी विस्थापित हुँदै आएका थिए । खानेपानी सङ्कलन गर्न तीन ठाउँमा एक लाख लिटरका तीनवटा टङ्की र एक वटा ५० हजार लिटरको टङ्की निर्माण गरिएको छ । विश्व बैंकको रु १० करोड, नगर विकास समितिबाट ऋण रु तीन करोड २५ लाख र उपभोक्ताबाट रु दुई करोड ७५ लाखको लागतमा योजना सम्पन्न हुन लागेको हो ।