☰ open Loading... 17 November 2024|  

आठ गाविस खुला दिसामुक्त हुन बाँकी
  | २४ पुष २०७३, आईतवार १३:४०

धनगढी । कैलाली जिल्लामा सन् २०१६ को अन्त्यसम्ममा एक नगर क्षेत्रसहित २० गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । सन् २०१६ को अन्त्यसम्ममा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने लक्ष्य राखिएको थियो ।

अझै कतिपय गाविस क्षेत्रका घरपरिवारमा शौचालय निर्माण हुन नसकेकाले निर्धारित समयभित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयले जनाएको छ ।

जिल्लाका पथरैया, जोशीपुर, थापापुर, गोदावरी, मसुरिया, प्रतापपुर लगायत आठ गाविसबाहेक अन्य गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । यस्तै धनगढी उपमहानगरपालिका र पाँचनगर क्षेत्र टीकापुर, लम्कीचुहा, भजनी त्रिशक्ति, घोडाघोडी र अत्तरिया नगर क्षेत्रमध्ये टीकापुर खुल्ला दिसामुक्त नगर घोषणा भइसकेको छ ।

धनगढी उपमहानगरका २० वडामध्ये १० वडालाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ । झन्डै आठ प्रतिशत घरधुरीमा अझै पनि शौचालय बनिनसकेकाले तोकिएको समयमा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको कार्यालयका इन्जिनियर दलबहादुर शाहले बताए ।

“कतिपय परिवारमा सम्पत्ति भएर पनि शौचालय नबनाउने प्रवृत्ति देखिएकाले समस्या भएको छ”, शाहले भने “वन छेउछाउमा बस्ने सुकुम्वासीको बस्तीमा शौचालय बनाउन नसक्ने समस्या पनि देखिएको छ ।”

ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा शौचालय नबनाउने धेरै परिवार देखिएको शाहले बताए । पछिल्लो पटक जिल्लाको मध्य क्षेत्रको पहलमानपुर गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको छ ।

सन् २०६८÷६९मा सरोकार भएकाहरुबीच भएको छलफलमा सन् २०१६ सम्म जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने रणनीति बनेको थियो । सरकारले भने सन् २०१७ सम्म देशलाई खुला दिसामुक्त घोषणा गरिसक्ने लक्ष्य राखेको छ ।

जिल्लाका कतिपय बस्तीका समुदायमा अझै पनि शौच गर्न खेतबारी वा खोला छेउछाउमा जाने पुरानो चलन हट्न सकेको छैन । फोहर तथा अशुद्ध खानेपानीको कारण मानिसमा झाडापखालालगायत धेरै रोग लाग्ने गरेको बताइन्छ ।