मैनतडा (सुर्खेत) । सुर्खेतको दोस्रो ठुलो नगरपालिका भेरीगंगाले ‘स्मार्ट सिटी’ निर्माणमा बल पुग्ने दीर्घकालिन योजनाहरु अघि सारेको छ । अधिकाँश शहरहरुमा दीर्घकालिन योजना नबन्दा अस्तव्यस्त भइरहेको बेला यो नगरपालिकाले पछि हुन सक्ने जोखिमलाई शुरुदेखी नै सम्बोधन गर्ने उदेश्यले याेजनाहरू निर्माण गरिरहेकाे छ।

२०७१ सालमा स्थापना भएको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका सडक, पुल, खानेपानी अायाेजना, शहर व्यवस्थापन लगायतका याेजनाहरू निर्माण गरेर दीर्घकालिन रूपमा अघि बढाउन थालेकाे छ । भेरी किनारामा रहेको यो नगरपालिकालाई हरित आधुनिकर शहर (स्मार्ट सिटी) को रुपमा स्थापित गर्ने योजनाहरु शुरू देखि नै कडाइका साथ लागु गर्ने थालेकाे नगरपालिकाले सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
भेरी आधुनिक शहर निर्माण गर्ने उदेश्य रामघाट, छिन्चु, मैनतडा, मेहलकुना लगायतका गाविसलाई समेटेर यस अघि स्मार्ट सिटीको अध्ययन गरिएको थियो । तर भेरीगंगा नगरपालिकाले पनि समग्र नगर क्षेत्रको सर्वाङ्गिण विकास, आवश्यक सेवा सुविधाहरुलाई फराकिलो पार्दै स्मार्ट सिटीको अवधारणामा रहेर योजना निर्माण गरिरहेको जानकारी दियाे ।
समृद्ध र वातावरणमैत्री आधुनिक नगरपालिका बनाउन गुरु योजनाहरु निर्माण कार्यलाई चालु आर्थिक वर्षबाट सशक्त बनाउन लागेको भेरीगंगा नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।
उनले व्यवस्थित शहरीकरण सहरी सेवा व्यवस्थापन र कृषि संरक्षणको लागि भू–उपयोग नितिमा आधारित ल्याण्ड पुलिगको अवधारणा अघि बढाएको बताए ।
जिल्लाका सरोकारवाला निकायसंगको समन्वयमा नगरपालिकाको स्वीकृत गुरुयोजनालाई कार्यान्वयमा जोड दिएको तर्क शर्माको छ । नगरपालिकामा भुकम्परहित भवन निर्माण, फोहोर व्यवस्थापन, सीटी सिभिल कोड लगायतका योजनाहरु सञ्चालनमा ल्याएको बतायो ।
आधुनिक शहरसंगै नगरपालिकाको सामाजिक विकास, सुशासन तथा संगठन, कृषि, वातावरण, स्वास्थ्य एवं सरसफाई सम्वन्धि नीति निर्माण गरेर योजनाहरु तयार गरिएको शर्माले उल्लेख गरे ।
नगर भित्रका बाँझे जमिनलाई सम्वन्धित मालिकाले प्रयोग नगरे भाडामा अरुलाई दिएर कृषि व्यवसायिक खेती गर्नमा प्रेरित गराउने उनले बताए । नगरपालिकाले चालु आर्थिक वर्ष १२ करोड ९० लाख २६ हजार रुपैयाँ विभिन्न शिर्षकमा खर्च गर्न लागेको छ ।
सोमबार आयोजित नरपालिकाको तेस्रो परिष्दमा पूँजिगततर्फ ६ करोड ३८ लाख ६२ हजार, चालुतर्फ १ करोड ३७ लाख १७ हजार ८१०, एलजीसिडिपीमा १९ लाख ११ हजार र सामाजिक सुरक्षामा ४ करोड ९६ लाख बजेट रहेको शर्माले जानकारी दिए ।
नगरपालिकाले आगामी वर्षका लागि १२ करोड ३४ लाख ५३ हजार ८१० रुपैयाँ प्रस्ताव गरेको छ । यो बजेट पूँजिगतमा ५ करोड ९७ लाख २६ हजार, सामाजिक सुरक्षामा ५ करोड र चालुतर्फ १ करोड ३७ लाख २७ हजार ८१० रुपैयाँ रहेको कार्यकारी अधिकृत शर्माले बताए । परिषद्को उद्घाटन गर्न मैनतडा पुगेको सांसद् लालबहादुर घलेले स्मार्ट सीटीलाई टेवा पुग्ने योजनालाई कार्यान्वयनमुखी बनाउन सुझाव दिए ।
साँघुरो सोचाईले अधिकाँश शहरहरु अहिले अस्तव्यस्त बनेको उदाहरण दिँदै सासंद् घलेले भोलीको पुस्तालाई फाइदा पुग्नेखालका दीर्घकालिन योजना निर्माण गर्न आग्रह गरे । परिषद्मा उत्कृष्ट काम गर्ने कर्मचारी र नगरपालिकाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।