☰ open Loading... 18 October 2024|  

सुदूर र मध्यपश्चिममा चेली तिहारको रौनक
  | १ माघ २०७३, शनिबार १६:३१

बाजुरा । सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा शनिबार अर्थात माघ १ गतेबाट चेली तिहारको रौनकता छाएको छ ।

माघ महिनालाई धर्मी महिनाका रुपमा मान्ने यहाँका बासिन्दाले यस महिनाभर छोरी बहिनीलाई माइती घरमा बोलाएर र आफै उनीहरुको पोइली घरमा भेट्न गएर मीठा खाने कुरा र दान दक्षिणा दिए पछि धर्मप्रप्ती भएको अनुभुती गर्ने प्रचलन रहेको छ ।

cheli-tihar

यस क्षेत्रका बाजुरा बझाङ्ग, डोटी, अछाम, दार्चुला बैतडी, हुम्ला, जुम्ला कालिकोट लगायतका जिल्लामा चेली तिहार मनाउने प्रचलन रहेको छ । माघ एक गतेलाई माघे संक्रान्तिको रुपमा पर्व मनाउने भए पनि महिना भर भने चेली तिहारको नाममा मनाउने प्रचलन रहेको छ । पुसको अन्तिम दिन अर्थात आजको दिन जंगलमा गएर तरुल, गिठा, भ्याकुर कोरेर ल्याएर त्यसैको उपहारका रुपमा भोली बिहान पाँच वटा जौ, तिल लगायतको अन्न जलाएर तिलख लगाई छोरी बहिनीलाई दक्षीणा दिने प्रचलन रहेको छ ।

शनिबार बिहानैदेखि यस क्षेत्रका सबै क्षेत्रमा चामलको पिठो कुट्नेको घुईंचो लागेको थियो भने बिबाहीत छोरी बहीनीहरुसमेत माईत आउँने चटारो चलेको थियो । लामो समय देखि पोइली घर बाट माइती घरका आउन नपाएका महिलाहरुका लागि भेट्ने महत्वपूर्ण समयका रुपमा यसलाई लिने गरीएको बडिमालिका नगरपालिकाका डम्मर महतले जानकारी दिए ।

बाजुरा जिल्लाका जुकोट, गोत्री, वाई गाविस र हुम्ला, जुम्ला, मुगु र कालिकोट लगायतका जिल्लामा बसोबास गर्ने ठकुरी समुदायको हप्तौँ लागेर माइती घर जाँनु पर्ने र टाढा टाढा बिबाह गर्ने प्रचलनका कारण वर्षौं माइती घर नआएका छोरी बहिनीहरु बझाङ्ग, अछाम, डोटी, डोल्पा, बैतडी लागायतका जिल्लाबाट माघी संग्रान्ती र चेलीतिहार मनाउनका लागि आइपुगेको कुरा जुकोट गाविसका उमेश शाहीले बताए ।

यस क्षेत्रमा बसोबास गर्ने बाहुन, क्षेत्री, ठकुरी, दलितलगायत सबै जात जातीले महिना भरी मासु नखाने र कुुनै पनि प्राणीको हत्या नगर्ने भनी मुख बारेका हुन्छन ।

माघ एक गतेका दिन स्थानीय तोरी, अ‍ोखरको, ढटेल्नो लगायतका स्थानीय उत्पादनको हातले तेल बनाएर सेलरोटी, बाबर, पुरी लगायतका परिकार महिलाले बनाउने र पुरुषले तरुल, गिठा, सखर खण्ड, पिडालु लगायतका कन्दमुल कोरेर माघ एक गने बिहान छोरी बहिनीहरुलाई अग्रान दिने प्रचलन रहेको छ ।

उज्यालाे