☰ open Loading... 18 October 2024|  

३० वर्षमा ५ किलोमिटर सडक
  | १ माघ २०७३, शनिबार १६:५३

बैतडी । बैतडीको सिल्लेगडा-कटौजपानी-रुद्रेश्वर-देथला-खलंगा सडक निर्माण कार्य सुरु भएको ३० वर्षमा ५ किलोमिटर मात्रै खनिएको छ । २०४३ सालतिर निर्माण सुरु गरिएको सडकमा आवश्यक बजेट विनियोजन नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको हो ।

‘सतबाँझ गोकुलेश्वर सडक निर्माण भएकै बेला यो सडकको शिलान्यास गरिएको हो तर सरकारले चासो नदिँदा दार्चुला जोड्ने छोटो र वैकल्पिक यो सडक अलपत्र परेको छ’ स्थानीय विष्णुदत्त भट्टले बताए ।

गएको दुई वर्ष यता सरकारले केन्द्रिय योजनामा राखेर बजेट छुट्याएको छ तर अहिले ठेकेदारले काम नगर्दा समस्या भएको उनकाे भनाइ छ ।

सडक डिभिजन कार्यालयले गएको वर्ष टेण्डर आह्वान गरेर सो सडकको ४० किलोमिटर मध्ये १४ किलोमिटर निर्माण कार्य अघि बढाउन ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताको अवधि आगामी असारसम्म मात्र रहेको तर निर्माण कार्यमा प्रगति नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

कटौजपानीका प्रताप महराले ३० वर्षमा ५ किलोमिटर मात्रै सडक निर्माण आफूहरु निराश भएको बताउनुभएको छ । सिल्लेगडा–कटौजपानी–रुद्रेश्वर–देथला–खलंगा सडक निर्माणाधिन चमेलिया जलविद्युत आयोजना पुग्ने वैकल्पिक र छोटो मार्ग पनि हो ।

देथलादेखि दार्चुला सदरमुकाम जोड्ने भएकाले यो सडकलाई बैतडी दार्चुला जोड्ने छोटो सडकको रुपमा लिइन्छ । यो सडक निर्माण भएमा बैतडीका १० भन्दा बढी गाविस सडक सञ्जालमा जोडिनेछन् ।

तर सडक निर्माणका लागि सम्बन्धित निकायले नै चासो नदिँदा सडक निर्माण कार्य अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् ।

उज्यालाे