☰ open Loading... 18 October 2024|  

प्रमुख जिल्ला अधिकारीले नै महिलाहरुलाई पोथी भनेपछि…
  | २ माघ २०७३, आईतवार ०६:५९

जिम्मेवार तहका व्यक्तीबाटै महिला अपमानित

सुर्खेत । पछिल्लो समय महिलाहरु उच्च पदमा बस्ने व्यक्तिहरुबाटै दुव्र्यवहारमा पर्ने गरेको पाइएको छ । धेरै जस्तो उच्च पदमा बसेर न्याय सम्पादन गर्ने व्यक्तिहरुबाटै नै दुव्र्यवहार हुने गरेको पाइन्छ ।

जिल्लाको प्रमुख अधिकारी जस्तो व्यक्तिहरुबाट अपमानित भएको देखिन्छ । ग्रामीण क्षेत्रका महिलाका विषय त परै जाओस नेतृत्व तहमा पुग्ने महिलाहरु नेतृत्व तहको उच्च व्यक्तिबाट महिलाहरु माथि अपमानित र दुव्र्यवहार गरेका छन् ।

cdo-code
सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवार लिएर हाल बाहिर रहेका बलदेव गौतमले नै महिला माथि अपमानित शव्द प्रयोग गरेका छन् । गत पुस २७ गते शनिबारमा सत्य निरुपण तथा मेलमिलाप आयोगको अन्तरक्रिया पश्चात आयोगका सदस्य माधवी भट्ट लगायत सुर्खेतका अन्य महिला नेतृहरुको टोलीसंग शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले संगै बसेको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।

फेसबुक पोष्टको कमेन्टमा प्रमुख जिल्ला अधिकारी गौतमले लेखका छन् वरिपरी पोथी नै पोथी राखेर एक्लै भाले के हो मोहन सर ? भन्दै आपत्तिजनक प्रतिक्रिया जनाएका छन् । त्यसको रिप्लाईमा हा…हा…हा… पिताम्बर ढकाल सर पनि हुनुहुन्छ सिडिओ साव संयोजक मोहन थापाले पोष्ट गरेका थिए ।

के साच्चिकै महिलाहरु पोथी हुन त ? प्रमुख जिल्ला अधिकारी गौतमले भने जस्तै । सिडिओ गौतमले सामाजिक संजालको प्रयोगको मार्फत विगतदेखी नै घरेलु हिंसा पर्दै आएकी महिलाहरुलाई पोथीको दर्जामा राखेका छन् ।

basnet-comment

फेसबुकमा सिडिअाेकाे हर्कत प्रति कडा अापत्ती जनाएपछि थापाले कमेन्ट डिलिट गरेका छन् । सिडिओ गौतमको फेसबुकमा दिएको प्रतिक्रियामा आपत्ति जनाउदैँ अधिकारकर्मी एवं जेसिज नेतृ सरस्वती बस्नेतले मोहन सर कस्तो सिडिओ हो यो…. आमा दिदी बहिनी नभएको…. भनेर प्रतिक्रिया दिएकी छन् । उनको भनाई अनुसार सिडिओको घरमा पनि दिदी बहिनी होलान् के सिडिओले आफ्नो दिदी बहिनीसंग कसैले फोटा खिच्दा यस्तो असभ्य भाषा सामाजिक संजालमा लेख्ने हिक्मत आउँछ त ? उनका प्रतिक्रियाले स्पष्ट बताउँछ ।

यो विषयमा अधिवक्ता दुर्गा सापकोटाले जिल्लाको कानून कार्यान्वयन एकाईको जिम्मेवारी लिएको व्यक्तिले यस्तो शब्द प्रयोग गर्नु गलत भएको औल्याए । आफ्नो पदीय मर्यादा तथा जिम्मेवारी भन्दा बाहिर गएर त्यस्तो कार्य गर्न नहुने बताए ।

पछिल्लो समय लैगिंक विभेद उन्मुक्ति गर्नका लागि परम्परागत रुपमा बोलिने भाषाहरुमा समेत परिवर्तन गरिएको अधिवक्ता सापकोटाले जानकारी दिए ।

‘वर्तमान समयमा विधवा महिलालाई विधवा महिला भन्न पाइदैन ।’ उनले विधवा महिलालाई एकल महिला भन्नपर्ने कानुनी प्रावधान रहेको जानकारी दिए । सिडिओ जस्तो व्यक्तिले यस्तो भाषा प्रयोग गर्न नमिल्ने उनको भनाई छ ।

किन गर्छन् महिलाहरुलाई दुव्र्यवहार ? कहाँ छ महिलाहरुको अधिकार ? उच्च तहकै व्यक्तिहरुबाट महिलाहरुले अपमानित भएपछि महिलाहरुलाई कसले दिन्छ न्याय ? अधिकारकर्मीहरु प्रश्न गर्छन ।

नेपालको संविधान २०७३ ले महिला र पुरुष दुवैलाई सम्मान हुने गरि संविधानको महिला समानुपातिक र समावेशी अधिकार दिएको छ । संविधान कार्यान्वयन गर्नेहरुबाटै महिला दुव्र्यवहारमा पर्ने गरेको सिडिओ गौतमले सामाजिक संजालमा लेखेको कुराले पुष्टी गर्दछ ।

वर्तमान समय कानुन संशोधन गर्दा महिलाहरुलाई आईमाई जस्ता शब्द प्रयोग गर्न नमिल्ने उल्लेख छ । तर सिडिओ गौतमले त्यसको ठिक विपरित अपाच्य भाषा प्रयोग गरेका हुन ।

नेपालको संविधानको भाग ३ को धारा ३८ को उपधारा ३ मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन, त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।

साथै उपधारा ५ मा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा जस्ता विषयहरु उल्लेख गरिएको छ । जिल्लामा सामाजिक सुरक्षा तथा शान्ति सुरक्षा दिने र संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुन्छ । ‘प्रमुख जिल्ला अधिकारीले नै महिलाहरुलाई पोथी भनेपछि कसरी महिलाले न्याय पाउछन्’ आम महिलाको प्रश्न छ ।