सुर्खेत । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने लगाम–५ चाहावोट गाउँमा वर्षौदेखि सरकारी योजनाहरु नपर्ने गरेको पाइएको छ । हरेक वर्ष गाउँबाट टोलभेला गरेर योजना छनौट गर्नुपर्ने प्रावधान रहेपनि गाविसका कर्मचारीको मनोमानीले योजनाविहिन गाउँ हुने गरेको हो ।
गत पुस २५ गते गाविसको परिषद् सम्पन्न भएपनि चाहावोटका लागि यस वर्षपनि योजनाहरु नपरेको गुनासो स्थानीयको छ । ४१ घरधुरी रहेको यो गाउँमा हालसम्म कुनैपनि योजनाहरु गाविसले नपरेपछि गाउँलेहरुले दवाव समिति नै गठन गरेका छन् । दलित समुदायको बाहुल्यता रहेको चाहावोटमा अधिकाँश पुरुषहरु रोजगारीका लागि भारत जाने र गाविसको दृष्टि नपुग्दा योजनाविहिन गाउँ हुने गरेको दवाव समितिका संयोजक जीतबहादुर तिरुवाले जानकारी दिए ।
‘गाउँको विकासका लागि सरकारी योजनाहरु माग गर्दा पनि गाविसले वेवस्था गरिरहेको छ’ संयोजक तिरुवाले भने,–‘आगामी वर्षका लागि पनि गाविसले योजनाहरु छनौट नगरिदिँदा दवाव दिने उदेश्यले सदरमुकाम नै आएका हौं ।’
चाहावोटको मुख्य समस्या खानेपानी र सडक हो । गाउँमा खानेपानीको अभाव हुँदा आफूहरु खोला पानी पिउन बाध्य भएको स्थानीय रामबहादुर कठायतले बताए । बारम्बार गाविसलाई वडा नागरिक मञ्चबाट योजना छनौट गरेर सिफारिस गर्दा समेत कटौती गर्दा आफूहरु मर्कामा परेको उनको भनाई छ ।
तर कठायतले गाविसका कर्मचारीको मनोमानी र राजनीतिक दलको आफू स्वार्थका कारण गाउँ योजनाविहिन भएको बताए । योजना छनौटको बैठकमा गाविसका कर्मचारी नगएर एनजिऔका कर्मचारी गएको स्थानीयको भनाई छ ।
४१ घरधुरी रहेको चाहावोटमा लगाम गाविस सचिव टेकबहादुर शाहीले त्यो गाउँमा १०–१५ वटा मात्रै घर भएको बताए । उनले परिषद्मा आएका योजना छनौट गर्दा मनोमानी नभई प्राथमिकतामा नपरेकाले छुटेको जिकिर गरे । ‘आगामी साउनमा संशोधित गरेर योजना राख्न सकिन्छ’ उनले भने,–‘परिषद्मा छुटेपनि संशोधनबाट भएर पनि योजना राखिने छ ।’