थोर थोरै रकम जम्मा गर्न सकिने तथा राम्रो ब्याजदर प्राप्त हुने भएपछि बाँकेमा सञ्चालित हुलाक बचत बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।
जिल्ला हुलाक कार्यालयद्वारा सञ्चालित सो बैंकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । विसं २०६३ असोजदेखि सञ्चालनमा ल्याइएको सो बैंकमा गत मङ्सिरसम्म एक हजार ६६७ बचतकर्ता रहेका जिल्ला हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले बताए ।
‘हुलाक बचत बैंकमा खाता खोलौँ, बचत गर्ने बानी बसालौँ’ नारा रहेको सो बैंकमा रु १०० देखि रु १० लाखसम्मको खाता खोल्न पाउने व्यवस्था गरिएको छ । बैंकले साधारणतर्फ तीन र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । हुलाकका कर्मचारीले अनिवार्य खाता खोल्नुपर्ने जनाइएको छ ।
सो बंैकले यस वर्षको मङ्सिर मसान्तसम्म रु ९६ लाख मुनाफा आर्जन गरेको छ भने निक्षेप सङ्कलन रु आठ करोड ७४ लाख पु¥याएको छ । बैंकमा खाता खोल्नेको सङ्ख्या सहरको भन्दा ग्रामीण भेगका नागरिकको बढी छ । सो बैंकले हुलाकअन्तर्गतका कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा रु एक करोड ३७ लाख ऋण लगानी गरेको कर्मचारी साधुराम चौधरीले जानकारी दिए ।