सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने नेटा गाविसमा पहिलो पटक बस सेवा सञ्चालनमा आएको छ । वीरेन्द्रनगरबाट छुटेको ना ३ ख ४७९६ नम्बरको बस यात्रुसहित पहिलो पटक नेटा पुगेको मध्यपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिए । उनका अनुसार संघका पदािधकारीरहरू पनि साेही बसमा नेटा पुगेका छन् ।
वीरेन्द्रनगरदेखी झण्डै ४० किलोमिटर दुरीमा रहेको सडक खण्डमा बस सञ्चालनमा आएपछि स्थानीयले स्वागत गरेका छन् । दशरथपुरबाट छुटेको बसलाई गमखोला, डाडागाउ र नेटामा स्थानीयले फुलमालाले स्वागत गरेका थिए । सडक सञ्चालन भएपनि बस सञ्चालन नहुँदा यहाँका स्थानीय नागरिकहरु पैदल हिडेर दशरथपुर आउनु पर्ने बाध्यता थियो । दशरथपुर–नेटा सडक खण्डमा मुस्ताङ जीप सञ्चालनरत भएपनि नियमित नहुँदा स्थानीयले सास्ती खेप्नु परेको पत्रकार युवराज पंगालीले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम वीरेन्द्रनगर तथा अनेत्र जाने यात्रुहरु बढी हुने र एउटा जीपमा नअट्ने हुँदा कतिपय यात्रु हिड्नु पर्ने बाध्यता थियो । बस सेवा सञ्चालन भएपछि नेटा, कल्याण–१, पाम्का, रजेना गाविसको गोगने, लापन लगायतका नागरिकलाई सहज हुने स्थानीयले बताएका छन् ।
ग्रामिण क्षेत्रका नागरिकलाई यातायातको सहज पहूच पुर्याउन नेटामा पहिलो पटक बस सेवा सञ्चालनमा आएको मध्यपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष खड्काले बताए ।
राज्यले भरपर्दो सडक निर्माण गरेमा जिल्लाका अन्य विकट गाविसहरुमा समेत यातायात सेवा विस्तार गर्ने बताएका अध्यक्ष खडकाले सडकको गुणस्तरमा राज्यले ध्यान दिए जुनसुकै रुटमा पनि नागरिकहरूलाइ बस सेवा दिनमा संघ अातुर रहेकाे उल्लेख गरे ।