☰ open Loading... 19 April 2024|  

दश वर्षमा पाँच हजार हेक्टर वन विस्तार
  | १० माघ २०७३, सोमबार १७:४६

पछिल्लो दश बर्षमा दाङमा ५ हजार भन्दा बढी हेक्टर वन क्षेत्र बृद्धि भएको छ । वन बिभाग अन्र्तगतको वन सर्वेक्षण तथा अनुसन्धान बिभागले सन्—२०१६ मा गरेको राष्ट्रिय वन श्रोत सर्वेक्षण प्रतिवेदनमा पछिल्लो दश बर्षमा दाङमा ५ हजार २ सय २५ हेक्टर क्षेत्र वन क्षेत्रका रुपमा परिणत भएको उल्लेख छ ।

dang forest
जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आज घोराहीमा बसको बैठकमा दश बर्ष अघी १ लाख ९५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेकोमा अहिले बृद्धि भइ २ लाख ७ सय २५ हेक्टर वन क्षेत्र पुगेको जानकारी गराइएको थियो ।

वन बिभागले हरेक १० बर्षमा देशभर वनको अवस्थाबारेमा बिस्तृत अध्ययन गरी वन क्षेत्रको तथ्याक सार्वजनिक गर्दछ । नदी उकास बगर क्षेत्रलाई सामुदायिक वन समूहका रुपमा स्थानीयलाई हस्तान्तरण गर्नु, स्थानीय समूदायको माग अनुसार सामुदायिक वन हस्तान्तरण गरिनु, समुदायिक वन र राष्ट्रिय वनको नाङ्गो क्षेत्रमा बृक्षरोपण गर्नु, स्थानीय समूहले सामुदायिक वनलाई संरक्षण र ब्यवस्थापन गर्नु, अतिक्रमित वन क्षेत्र ब्यवस्थापन गर्ने लगायतका कारणले दाङको वन क्षेत्र बढेको सहायक वन अधिकृत गोकुलप्रसाद चौधरीले जानकारी दिए ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङका अध्यक्ष एंव स्थानीय बिकास अधिकारी कुलबहादुर जिसीको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी मेघनाथ काफलेको प्रमुख आतिथ्यतामा बैठक भएको थियो ।

बैठकले सामुदायिक वन उपभोक्ता महासंघ र वन समूहहरुसँग समन्वय गरी सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन कार्ययोजना तयारी गरी कार्यान्वय गर्ने, घोराही, लमही र त्रिपुर नगरपालिकासँग समन्वय गरी तीन वटा नगर उद्यान निर्माण कार्य अघी बढाउने, सरोकारवाला निकायसँग समन्वय गरी वनको अतिक्रमण ब्यवस्थापन र डढेलो सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने, दाङ उपत्यकालाई हरित उपत्याकाका रुपमा बिकास गर्नकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघी बढाउने लगायतका निर्णय गरेको छ ।

कार्यक्रममा जिल्ला वन कार्यालय, भू—संरक्षण कार्यालय तथा वन र वातावरण क्षेत्रमा क्रियासील सरकारी तथा गैर सरकारी निकायले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ काफ्ले जिल्लाका सवै सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले वन तथा वातावरण क्षेत्र सरकारी निकायबाट हुने कार्यक्रममा समन्वयकारी भूमिका हुन नसकेको गुनासो गरे ।