जुम्ला चन्दननाथ नगरपालिका १४ र १५ का महिलाहरुले मदिरा न्युनिकरण अभियानमा लागेका छन् । मदिरा सेवनले गाउँमा हुन सक्ने झै झगडालाई न्युनिकरण गर्नका लागि महिला समूहले मदिरा नियन्त्रण अभियान थालेका हुन् । कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाद्धारा मंगलबारबाट मदिरा न्युनीकरण अभियानको आयोना गरिएको हो । गाउँमा विक्रि हुने स्थानिय मदिरालाई बेच बिखनमा प्रतिबन्ध लगाइने महिलाहरुले बताएका छन् ।
मदिरा सेवन तथा विक्रि वितरणलाई न्युनिकरण गरि संमृद्ध समाज निर्माण गर्ने उद्देश्यले अभियानको थालिन गरिएको हो । “घर घरमा हिंसा अन्त्य गरौँ, जाडरक्सी बन्द गरौँ”, भन्ने मुल नाराका साथ अभियान थालिएको बताईएको छ । अभियानको क्रममा १४ र १५ वडामा रहेका मदिरा पसल सञ्चालकलाई मदिराले पुर्याएको असर र गाउँ समाजमा मदिराले पारेको असरका विषयमा जानकारी गराउदै पहिलो चरणमा मदिरा नबेच्न अनुरोध गरिएको कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिका न्यौपानेले बताइन ।
मदिरा विक्रि वितरण नगर्न व्यापारीलाई जानकारी गराईएको भन्दै यदि कसैले विक्रि वितरण गरेको पाईएमा महिलाहरुको निर्णय अनुसार जरिवाना गरिने उनले बताइन । गाउँघरमा महिला हिंसा, सम्वन्ध विच्छेद र झैझगडा मदिरा सेवनबाट हुने भएकाले मदिरा विक्रि नगर्न पसलेहरुलाई आग्रह गरिएको न्यौपानेकाे भनाइ छ । मदिरा न्युनिकरण अभियान सफल पार्नको लागि महिलाको सक्रियताले मात्र सम्भव नभएको भन्दै उहाँले यसमा सबैको साथ सहयोग आवश्यक पर्ने बताइन ।
मदिरा न्यनिकरणमा सबैले साथ दिएर समाजमा परिवर्तन आउने अपेक्षा अध्यक्ष न्यौपानेकाे छ । त्यस्तै अभियानको क्रममा घरेलु हिंसा र जाडरक्सी बन्द गर्न सुझाव दिनको लागि मदिरा पसलहरुमा गएको कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थाकी सचिब रापती देवकोटाले जानकारी दिइन । सचिब देवकोटाका अनुसार गाउँ समाजमा रहेको महिला हिंसालाई न्युनिकरण गर्नका लागी महिलाहरू नै निरन्तर लाग्न अावश्यक छ ।
गाउँ समाजमा बस्नका लागी मेलमिलापको आवश्यकता हुने र मदिरा जस्ता पेय पदार्थ पीउदा समाजमा असर पर्ने उनले बताइन । सहकारी महिला अधिकार र गाँउ समाज सुधारका लागी निरन्तर लाग्ने उनले उल्लेख गरिन । स्थानिय मदिरा न्युनिकरण गर्नका लागी थालिएको अभियानमा सहकारीका करिब १ सय जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।