☰ open Loading... 25 December 2024|  

उपचार अभावले पाठेघरको क्यान्सरले थलिइन ‘नन्दकला’
  | १२ माघ २०७३, बुधबार १७:१२

सुर्खेत । पाठेघरको क्यान्सरबाट पीडित बनेकी एक महिला उपचार अभावले जिउनु र मर्नुको दोसाधमा पुगेकी छन् । वीरेन्द्रनगर–१६ पदमपुर निवासी ६० वर्षिया नन्दकला सुनार उपचार अभावले डेढ वर्षदेखी थलिएकी हुन् ।

nandkala-(1)
उपचार अभावले थलिएकी नन्दकला सुनार । तस्वीर सुशील खड्का /पश्चिम नेपाल

संगै जिउने संगै मर्ने बाचा खाएका श्रीमानले समेत वास्था नगरेपछि नन्दकलालाई उपचार गर्नमा कठिन भएको उनकी छोरी माया सुनारले बताईन् । क्यान्सर अस्पताल भरतपुर, चितवनले समेत तीन लाख खर्च लाग्ने बताएपछि विपन्न वर्गकी नन्दकलाको उपचारमा संकट थपिएको छ ।

‘सहकारीबाट ऋण काढेर आमालाई उपचार गर्न भरतपुरसम्म लगे’ नन्दकलाकी छोरी मायाले भनिन्,–‘अस्पतालले कम्तिमा ३ लाख खर्च लाग्ने जानकारी दिएपछि उपचार नगरेर आमालाई सुर्खेत ल्याएर आए ।’

२१ वर्षदेखी श्रीमानबाट अपहेलित बनेकी नन्दकला यतिबेला आफ्नो ज्यान बचाईन दिन अपिल गरेकी छन् । ‘श्रीमानले कान्छी श्रीमती ल्याएर बस्नु भयो, आज म थलिदा कुनै वास्था नगरेपछि उपचारमा झन कठिन भएको छ’ पीडित नन्दकलाले भनिन्,–‘२१ वर्षदेखी छोरीले पाल्दै आएकी छे, म बाँच्नु चाहान्छु, मलाई बचाई दिनुहोस् ।’

उनका श्रीमान श्यामलाल सुनारले कान्छी श्रीमती ल्याएपछि अपहेलनामा परेकी हुन् । नन्दकलाका एक छोरा र एक छोरी छन् । ‘घरको कमजोर आर्थिक अवस्थाले घर खर्च टार्न ठिक्कै हुन्छ । आमाको उपचार कसरी गरु’ प्रश्न गर्दै मायाले भनिन्,–‘भरतपुर अस्पतालसम्म त पुर्या तर थोरै पैसाले उपचार सम्भव भएन ।’

‘ज्वाई पनि वित्नुभयो, छोरीले आफ्ना दुई छोरा पालोस की मलाई उपचार गरोस्’ नन्दकला थप्छिन्, ‘हामीजस्ता गरिवको कोही हुने रहेनछ, मलाई लिन काल पनि आउँदैन, तड्पीएर बाँच्नु शिवाय अरु विकल्प छैन् ।’

आर्थिक अभावले थलिएकी नन्दकलाको उपचारार्थ समाजसेवी प्रेमप्रकाश खड्काले पाँचहजार सहयोग गरेका छन् । विपन्न समुदायकी नन्दकलाको ज्यान बचाईन अपिल गर्दै खड्काले सहयोगी मनहरुले ९८६८२६६५७८ मा फोन गरेर सहयोग गर्न आग्रह गरेका छन् ।