☰ open Loading... 19 September 2024|  

प्रदेश चौतारीको भेलामा एमालेका नेताहरुले के भने पढ्नु होस
  | १६ माघ २०७३, आईतवार २०:२०

planig
प्रदेश स्तरीय भेलाको उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष युवाराज ज्ञावली । तस्वीरः पश्चिम नेपाल

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रमुख सत्ताधारी दल कांग्रेस र माओवादी चुनावदेखि डराएको आरोप लगाएका छन् ।  एमाले केन्द्रीय प्रचार विभाग र प्रेस चौतारी नेपालद्वारा आइतबार वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग पराजित हुने डरले माओवादी र कांग्रेसले निर्वाचन गर्न नचाहेको बताए । ‘एमालेको लोकप्रियतादेखि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा अत्तालिनुभएको छ,’ उनले भने, ‘एमाले राजनीतिक डाक्टर हो । मुलुकका समस्या समाधान गर्ने हिम्मत एमालेबाहेक अरुसँग देखिएन । त्यही भएर एमालेप्रति जनविश्वास बढ्दो छ ।’

प्रचार विभाग प्रमुख एवं पार्टी सचिव योगेश भट्टराईले प्रधानमन्त्री दाहाल र शेरबहादुर देउवा अधिनायकवादी ढंगले अघि बढेको आरोप लगाए । ‘०७४ माघ ७ अगावै मुलुकलाई राजनीतिक र संवैधानिक संकटबाट पार लगाउनु छ । सरकारको ध्यान यसतर्फ छैन्,’ उनले भने, ‘यदि कांग्रेस र माओवादीले नसक्ने हो भने माघ ७ अगावै एमाले मुलुकलाई निकास दिन सक्षम छ ।’

संसारमा कहीँ पनि जाती र भाषा पिच्छे राष्ट्रियता नभएको औंल्याउँदै सचिव भट्टराईले माओवादीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता खतरामा पार्न खोजेको बताए । ‘माओवादीले विगतमा जे गरेको थियो । अहिले मधेसवादी दलले त्यही सिको गरेका छन्,’ उनले भने, ‘नेपालमा अलग–अलग राष्ट्रियताको परिभाषा कुनै हालतमा हुन सक्दैन् ।’

अमेरिकामा काला र गोराबीच तथा छिमेकी भारतमा दुई हजारबढी जाती छन् । तिनीहहरु सबैको एउटै राष्ट्रियता भएको उनको भनाई थियो । एमाले जिउँदो रहुञ्जेल मधेस र पहाड अलग पार्न नदिने अडान राखे ।

‘सदन र सडकमा एकजना मात्र एमाले छ भनेपनि मधेस र पहाड अलग पार्ने सपना नदेखे हुन्छ,’ उनले भने । मुलुकभित्रका मातृभाषालाई विस्थापित गर्न हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन खोजिएकाले व्यापक खबरदारी गर्न उनले आग्रह गरे । भेलालाई पोलिट्ब्युरो सदस्य यमलाल कंडेल, प्रकाश ज्वाला, प्रचार विभाग उप–प्रमुख सूर्य थापा लगायतले सम्बोधन गरेका थिए ।