☰ open Loading... 19 September 2024|  

सल्यानका गाविस सचिव पनि अान्दाेलित
  | २० माघ २०७३, बिहीबार १८:१२

सल्यान । जिल्लाका बिभिन्न गाबिसका गाविस सचिवहरुले कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता नपाएको भन्दै उनीहरुले कार्यालयको कामकाज ठप्प पारेर अान्दाेलित भएका हुन् ।

विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधी वहालिका लागी स्थानीय तहको चुनाव हुनुपर्ने गाविस सचिवहरुको पनि माग रहेको गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल, जिल्ला कार्यसमिती सल्यानका अध्यक्ष गोपाल केसीले जानकारी दिए । यस्तै गाबिस सचिवहरुलाइ सरकारबाट गत वर्ष स्वीकृत भएको प्रोत्साहन भत्ता तुरुन्त उपलव्ध गराउनुपर्ने लगाएतका माग रहेका छन् ।

जिल्ला कार्यसमिती सल्यानले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणमा विभिन्न ४ बुदे माग राख्दै ध्यानाकर्षण पत्र पेश गरेको छ । अध्यक्ष केसीका अनुसार सल्यानका सबै गाविसका कामकाज ठप्प पारिएको छ । “सल्यानमा रहेका सबै गाबिसका गाविस सचिवहरुले कार्यालयको कामकाज ठप्प पारेका छौँ” उनले भने– “ यो बाहेक अरु हाम्रो बिकल्प भएन ।”

यस्तै सचिवहरुलाइ सरुवा भइ अन्यत्र जान लगाइएको प्रतिबन्ध फुकुवाइ गरिनुपर्ने, स्थानीय तह कार्यान्वयनमा ल्याउन लागेको आदेश जारि हुँदाको सन्दर्भमा गाविस सचिवहरुलाइ वडामा मात्रै सिमित नगरि योग्यता क्षमता, दक्षता र आवश्यता अनुसार गाउँपालिका, नगरपालिकाको जुनसुकै पदमा खटाउन सकिने व्यवस्थाको माग पनि गरिएको छ । हाल जिल्लामा ३५ वटा गाविसको काम २८ जना सचिवहरुले मात्रै गरिरहेका छन् ।