☰ open Loading... 20 September 2024|  

जनपरिचालन अभियान सफल भएकाे एमाले सुर्खेतकाे निष्कर्ष
  | २० माघ २०७३, बिहीबार १९:०९

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले केन्द्रीय कार्यक्रम अनुसार सुर्खेत जिल्लामा सञ्चालन गरेको जनपरिचालन अभियान सफल भएको निष्कर्ष निकालेको छ । चार महिने संविधान कार्यान्वयन तथा जनपरिचालन अभियानका क्रममा सुर्खेतमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्यामा उल्लेख्य भएको पनि समिक्षा गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको विहिबार वीरेन्द्रनगर ऋषि स्मृति भवनमा भएको सचिवालय बैठकमा जनपरिचालनका क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको जनलहरले थप उत्साह प्रदान गरेको बैठकले निष्कर्ष निकालेको थियो ।

सुर्खेतका प्रस्तावित गाउँपालिका र नगरपालिका क्षेत्रलाई समेटेर पार्टीका बैठक, भेला र आमसभाहरु सञ्चालन गर्न मातहतका सम्पूर्ण कमिटीहरुलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउनका लागि एमाले सचिवकाे संयोजकत्वमा ३ सदस्यीय विद्यार्थी परिचालन सहयोग मूलसमिति गठन समेत गरिएको छ ।

शिक्षा ऐन २०७३ कार्यान्वयन गर्नेक्रममा सुर्खेतका केही विद्यालयमा देखिएको नाङ्गो राजनीतिक हस्तक्षेप र शिक्षा क्षेत्रमा त्यसले पार्ने असरका बारेमा छलफल गरी राजनीतिक पूर्वाग्रहमा भएका यस्ता गतिविधि गर्ने निकाय र व्यक्तिलाई कारवाहीका लागि कानूनि दायरामा ल्याउन सम्बन्धित पक्षसंग बैठकले माग गर्ने निर्णय गरेको नेकपा एमाले सुर्खेतका अध्यक्ष धुव्रकुमार शाहीले जानकारी दिएकाे छ ।

नेपाली जनताको अधिकार सुनिश्चित गर्न संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन मिति तत्काल घोषणा गर्नुको साटो राष्ट्रघाती तथा जनविरोधी संशोधनको बखेडा झिकिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष शाहीले बैठक मार्फत तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराइएको बताए ।