जाजरकोट । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले काम नगर्ने तर ठाउँ मात्र ओगट्ने उपभोक्ता समितिलाई कारबाई गर्नुपर्नेमा जोड दिएका छन ।
आज जाजरकोटको सदरमुकाममा आयोजित बहुक्षेत्रीय पोषण योजना अभिमुखीकरण कार्यक्रममा उनले भने — बजेट पाएर पनि काममा आनाकानी गर्ने जोसुकैलाई पनि कारबाई गर्न सक्नुपर्दछ ।
नेता बस्नेतले आवश्यकता, चाहना र सम्भावनाका आधारमा काम गर्न सकेमा मात्र जनताले विकासको अनुभूति प्राप्त गर्ने बताउँदै विकासको काममा अवरोध नगर्न सबैमा आग्रह गरे ।
कामै नगरी बजेट सक्ने गरेको जनगुनासो सुनिएका कारण अब त्यस्ता बदमासी गर्नेलाई कारवाही गर्नुपर्ने उल्लेख गर्दै उनले रिम्ना छेपारे सडक अबको दुई महिनाभित्र सकिने र अन्य दर्जन ठाउँमा टेन्डरको तयारीमा रहेका कारण यहाँको विकासमा अब गति लिने छ भने ।
नेता वस्नेतले गुणस्तरीय काम गर्नका लागि आवश्यक वातारण तयार गर्न आग्रह गर्दै जिल्लाका दर्जनौँ ठाउँमा ठूला सिँचाइका योजना सञ्चालनको तयारीमा रहेका कारण अब जिल्लाको खाद्यान्न उत्पादन दर बढ्ने विश्वास व्यक्त गरे ।