जिल्ला अस्पताल बिजुवारमा लामो समयपछि नयाँ भिडियो एक्सरे मेसिन ल्याइएको छ । पहिलाको मेसिन बिग्रँदा झन्डै ६ महिनादेखि बिरामीले सेवा लिन पाएका छैनन् ।
कोटेसनमार्फत ४ लाख ९८ हजारमा मेसिन खरिद गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको जिल्ला स्वास्थ्य प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण शाहले बताए । ‘एक्सरे मेसिन बिग्रँदा महँगो शुल्क तिरेर बिरामी निजी क्लिनिक जान बाध्य थिए,’ शाहले भने, ‘अहिले सहज भएको छ ।’ उनले अशक्त, सुत्केरीलाई बाहिर जान नपर्दा सहजता भएको बताए । विभागसँंग डिपिबिलेटर, ईसीजी मेसिन, पेसेन्ट मोनिटरलगायत माग गरेको उनले जानकारी गराए ।
अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा भने अझै समस्या रहेको शाहको भनाइ छ । ‘बिरामी जाँच गर्न थप मेसिन ल्याउँदै छौं,’ उनले भने, ‘दरबन्दीका चिकित्सक नहुँदा भने निकै समस्या छ ।’ अस्पतालमा चार स्थायी र दुई करारका चिकित्सक दरबन्दी रहे पनि अहिले दुई जना मात्र छन् । शल्यक्रियासहितको सुत्केरी सेवाका लागि निक साइमनमार्फत आएका दुई चिकित्सक बिदामा बसेको उनले जानकारी गराए ।
‘शल्यक्रियासहितको सुत्केरी सेवा र नियमित आउने बिरामीको उपचारमा लाग्न हामीलाई भ्याइनभ्याई छ,’ शाहले भने, ‘दिनभर बाहिर कार्यक्रममा भए पनि बेलुका बिरामी नहेरी हुँदैन ।’ उनले जिल्ला स्वास्थ्यको समेत जिम्मेवारी सम्हालेकाले दुवैतिर हेर्नुपर्ने बताए । निक साइमनका डा। समीर लामा र डा। दीक्षा कँडेल बिदामा बसेको, डा। सरोज केसी र कृष्ण शाह मात्र रहेको अस्पताल प्रशासनले जनायो ।
-इकान्तिपुर