☰ open Loading... 19 April 2024|  

हटारु हिड्ने बाटोमा ‘सडक निर्माण’
  | ६ फाल्गुन २०७३, शुक्रबार ११:४६

दैलेख । वर्षौदेखी हटारु हिड्ने बाटोमा सडक निर्माण गरिएको छ । दुल्लु नगरपालिका–६ छिउडीस्थित बालेबजार–मेला–लुजै–तोलीपानी हुँदै तल्लोडुङ्गेश्वर जोड्न सडक निर्माण गरिएको हो ।


दैलेख क्षेत्र नम्बर दुईका सासंद् लक्ष्मी पोखरेलको पहलमा सडक निर्माण भएको छ । वर्षौेदेखी जुम्ला, कालीकोट र दैलेखका कुसापानी, बडलम्जी, दुल्लु आसपासका नागरिकहरु यही बाटो हिडेर ‘हाट’ जाने गर्थे । तर सासंद् पोखरेलले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तरगत १० लाखमा ट्याक खोलेपछि आवतजावतमा सहज भएको छ ।

तल्लोडुङ्गेश्वर–नाउलेकटुवाल हुँदै दुल्लु पुग्न २० किलोमिटर दुरीमा छ भने नयाँ निर्माण भएको सडकबाट दुल्लु पुग्न करिव ७ किलोमिटर छोटो पर्ने बालेबजार–तल्लोडुङ्गेश्वर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए ।

उनले पुरानो हटारु हिड्ने बाटोमा सडक निर्माणका लागि पटक–पटक पहल गर्दा यो वर्ष सफल भएको बताए । बालेबजार–मेला–लुजै हुँदै तोलीपानीसम्म सडक निर्माण गरिएको खड्काको भनाई छ । दुई वर्षअघि नै बालेबजारदेखी मेलासम्म सडक निर्माण गरिएको थियो । ‘आधा सडक निर्माण भएपनि तल्लोडुङ्गेश्वर जोड्न बजेट अभाव थियो’ अध्यक्ष खड्काले भने,–‘यो पटक हामीले सडक निर्माणलाई पूर्णता दिएका छौं ।’

नयाँ निर्माण भएको सडकले तल्लोडुङ्गेश्वर–नविस्थान जोड्ने पुलकाे काम गरेको स्थानीयकाे भनाइ छ । यो सडक निर्माण भएपछि दुल्ल नगरपालिका–६ मेला, लुजै, गमौडी लगायतका नागरिकलाई आवतजावतमा सहज हुनेछ ।