☰ open Loading... 18 January 2025|  

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
  | ६ फाल्गुन २०७३, शुक्रबार १९:२३

बैतडी । किर्ते कागज बनाएर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता गरेकै दिन देखि फरार रहेका ओझालाई हिजो बिहीबार बैतडीको गोठलापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।

पक्राउ परेका ओझालाई बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान थालिएको समेत उनले बताए। ओझालाई लागेको आरोप प्रमाणित भएमा सरकारी कागज किर्ते दस्तखत मुद्दाअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ।  उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई सदरमुका गोठलापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।