☰ open Loading... 26 November 2024|  

माओवादीको बन्द सत्रमा सेना निर्माण गर्ने र समानन्तर सत्ता बारे व्यापक बहस
  | ८ फाल्गुन २०७३, आईतवार १९:३९

थबाङमा जारी नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा जनसेना निर्माण गर्ने र समानन्तर सत्ता चलाउने विषयमा व्यापक बहस भइरहेको छ । त्यसैगरी माओवादी भन्न साथ आम मानिसमा नकरात्मक धारण रहेको भन्दै पार्टीको नाम फेर्ने समेत प्रस्ताव गरिएको छ ।

शुक्रबारदेखि थबाङमा आफैले निर्माण गरेको सभाहलमा माओवादीको बन्द सत्र जारी छ । माओवादीले गत १ फागुनमा काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरेको थियो ।

बन्द सत्रका आयोजक जिल्ला रोल्पाका सचिव दलबहादुर खत्रीले विगतको दश वर्षे सशस्त्र युद्धको गम्भिर समिक्षा गर्दै प्रतिक्रान्ति रोक्ने दिशातिर बन्दसत्रमा बहस केन्द्रित भएको बताए ।‘विचारको विकास नगरेर प्रतिक्रान्तिलाई रोक्न नसकिने रहेछ । त्यसैले हामीले लामो समय बहस र विचार निर्माणमै ध्यान दिएका छौं,’ सहिद परिवारका जिल्ला अध्यक्ष समेत रहेका खत्रीले भने ।

विगतको दश वर्षे सशस्त्र युद्धको अगुवाई तत्कालीन माओवादीले गरेकाले सर्वसाधारण, शुभचिन्तक तथा पार्टी कार्यकर्ताले समेत ‘माओवादी’ शब्ददेखि वितृष्णा पैदा भएको गुनासो गरेको नेतृत्वको बुझाई छ । ‘पार्टीको नाम समेत बदल्ने प्रस्तावका बारेमा छलफल भइरहेको छ,’ खत्रीले भने, ‘विगतको गम्भिर समिक्षा गर्दा जनतामा सकारात्मक भन्दा नकारात्मक धारणा बढी भएकाले पार्टीको नाम फेर्न धेरै पक्षबाट सुझाव आएको हो ।

त्यो विषयमा नेतृत्वले समेत गम्भिर रुपमा ध्यान दिएको छ ।’ स्रोतका अनुसार कार्यकर्ताले चन्दा माग्न जाँदा, नयाँ विचार सुनाउँदा र संगठन निर्माण गर्दा विगतकै माओवादी शैली र गतिविधिप्रति गुनासो गर्ने गरेकाले स्थानीयदेखि केन्द्रीय तहसम्म पार्टीको नाम फेर्ने सम्बन्धमा प्रस्ताव ल्याउनु परेको हो ।

तात्कालीन माओवादीले रोल्पा र थबाङलाई सशस्त्र युद्धको मुख्य केन्द्रीय आधार इलाकाको रुपमा मान्दै आएको थियो । शान्ति सम्झौता र शान्ति प्रक्रियाप्रति गम्भिर असहमति जनाउदै आएको माओवादीले रोल्पाको थबाङलाई फेरि पनि मुख्य आधार इलाका ठान्दै थबाङमै आठौं महाधिवेशनको बन्द सत्र आयोजना गर्ने निर्णय गरेको थियो । बन्द सत्रको छलफलमा प्रतिनिधिहरुले तात्कालिन ‘जनयुद्ध’ को जगमा उभिएर ‘एकीकृत जनक्रान्ति’को विकास गर्न जनवादी सत्ता, न्यायालय, सेना र सोही प्रकारको संगठन निर्माण गर्न सुझाव दिएका छन् ।

बन्द सत्रमा राप्ती क्षेत्रबाट सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सेना नभएको कम्युनिष्ट पार्टीले परिवर्तनलाई संस्थागत गर्न नसक्ने भएकाले सेना निर्माण पनि एउटा महत्वपूर्ण हिस्सा हो भनेर हामीले त्यस विषयमा छलफल चलाएका छौं ।’ उनका अनुसार महासिचव नेत्रविक्रम चन्द विप्लवद्वारा शुक्रबार बन्द सत्रमा प्रस्तावित राजनीतिक प्रतिवेदनमा समेत यो विषय स्पष्ट रुपमै उल्लेख गरिएको छ । ‘जनवादी क्रान्ति संचालन गर्न जनसेनाको निर्माण अपरिहार्य हुन्छ । प्रतिवेदनमा यो विषयमा स्पष्ट पारिएको छ,’ एक केन्द्रीय सदस्यले भने ।

तत्कालिन युद्ध र शान्ति प्रक्रियापछिका निर्वाचनका सन्दर्भमा समेत चर्चामा आएको गाउ थबाङमा भइरहेको बन्द सत्रमा मुलुकभरिबाट आएका प्रतिनिधिलाई २१ वटा समूहमा विभाजित गरेर छलफल चलाइएको छ । ‘हरेक समूहका टोली नेताबाट बहस र छलफलको संश्लेषित निष्कर्षसहितको विचार प्रस्तुत गर्ने कार्यक्रम जारी छ । हरेकले निकै समय लगाएर नयाँ क्रान्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस केन्द्रित गरिरहेका छन’ पार्टीका रोल्पा सेक्रेटरी खत्रीले बताए । उनका अनुसार समूहगत छलफल र उनीहरुबाट संश्लेषित विचार प्रस्तुत गर्ने पालो सोमबारसम्म चल्नेछ । त्यसपछि पार्टीको संशोधित प्रतिवेदनलाई छलफलका लागि पुनस् प्रस्तुत गरिने कार्यक्रम छ ।

हरेक समूहका छलफल र निष्कर्षलाई महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरुले गम्भिरतापूर्वक सुन्ने गरेका छन् । शान्ति सम्झौता र सेना समायोजनाको घोर विरोध गर्दै आएको माओवादीले राष्ट्रियताको विषयमा गैरवामघटक शक्तिसँग समेत सहकार्य गर्न सकिने निष्कर्ष निकाले छ । माओवादी प्रवक्ता विश्वकर्माले भने, ‘क्रान्तिलाई पूर्णता दिन, दलालीकरण र आत्मसमर्पण रोक्न, चौपट परेको अर्थतन्त्रलाई यथास्थानमा फर्काउन र जनजीविकालाई सम्बोधन गर्न एकीकृत जनक्रान्ति आवश्यक छ । त्यसका लागि आवश्यक परे आफ्नै सेना, सत्ता र न्यायालय निर्माण गर्न सकिनेछ ।’

संसदीय व्यवस्थाको कडा विरोध गर्दै आएको माओवादीले स्थानीयदेखि राष्ट्रिय तहसम्म हस्तक्षेपकारी भूमिका निर्वाह गर्न बन्द सत्रमार्फत कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् । शान्ति प्रक्रियापछिको सेना समायोजन प्रक्रिया मार्फत ‘अयोग्य’ का रुपमा घर फिर्ता पठाइएका लडाकुलाई संगठित गर्दै आएको माओवादीले पछिल्लो पटक कम्युनिष्ट पार्टीसँग आफ्नै सेना हुने धारणा सार्वजनिक गर्दै आएको छ ।

मुलुकभरबाट महाधिवेसनमा भाग लिन थबाङमा भेला भएका प्रतिनिधिलाई घर घरमा बस्ने व्यवस्था मिलाइएको छ भने खानाको लागि संयुक्त मेस सञ्चालन गरिएको छ । यो वर्षदेखि थबाङमा सडक पुगेकाले सहभागीहरु सडक यातायातको साधनमार्फत थबाङ पुगेका हुन् । दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै थबाङसम्म निर्माणाधीन सहिद मार्गको ट्रयाक खन्ने काम सकिएको छ भने पूर्वी रोल्पाको सुलीचौरदेखि थबाङ पुग्ने सडक सेरमको फुलीवनमै रोकिएको छ ।

सडकमै पर्ने विशाल चट्टान काट्न नसक्दा उक्त सडक बीचैमा अलपत्र परेको हो । बन्द सत्र थबाङमा आयोजना गर्ने निर्णय भएपछि पार्टीका कार्यकर्ताको अगुवाईमा माओवादीले करिब एक हजार जना अट्ने हल निर्माण थालेको थियो । सहिद स्मृति भवन नाम राखिएको भवन निर्माणमा करिब दुई करोड खर्च लाग्ने अनुमान गरिएको थियो । पार्टीप्रति आस्थावान इन्जिनियरले डिजाईन गरेको उक्त भवन निर्माण गर्न राप्तीलगायत मुलुकभरका विभिन्न व्यूरोबाट कार्यकर्तालाई खटाइएको थियो । भवनको गाह्रो लगाउने जिम्मेवारी भने स्थानीयलाई ठेक्कामा दिइएको थियो । खत्रीले हलको निर्माण पुरै नसकिएको बताए । रंगरोगन, पर्खाल निर्माण तथा सहिदका स्तम्भ तथा नामावली लेख्ने कार्य अझै नसएिको उनले बताए ।

इकान्तिपुर