नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले १४ देशमा राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशमा राजदूत नियुक्त गरेको हो ।
माओवादीले यस अघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सिफारिस गरेका व्यक्तिहरुलाई नै यो पटक पनि राजदूत बनाएको छ ।
माओवादी कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् । फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् ।
त्यसैगरी कांग्रेसको कोटाबाट अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् । राप्रपाको कोटाबाट प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका छन् ।