☰ open Loading... 26 July 2024|  

माओवादी केन्द्र सुर्खेतको चुनाव केन्द्रित अभियान
  | १२ फाल्गुन २०७३, बिहीबार ११:५५

गाउँपालिका अध्यक्ष र  नगरपालिका मेयरको निशाना

सुर्खेत । सोमबार मात्रै सरकारले १९ वर्षपछि स्थानीय निकायको निर्वाचन गर्न मिति घोषणा गरेको छ । नयाँ संविधान कार्यान्वयनमा सरकार केन्द्रीत भएको सकरात्मक सन्देश तरंगीत भएको छ । तर सुर्खेतमा  नेकपा माओवादी केन्द्रले नयाँ संविधान अनुरुप आफ्ना कमिटी गठन कार्यलाई पनि तिव्रता दिएको छ ।

जिल्लाका प्रस्तावित ९ स्थानीय तहमध्य पाँच नगरपालिका र तीन गाउँपालिमा कमिटी गठन गरिसकेको छ । बाँकी एक गाउँपलिकामा पनि १६ गतेसम्म टुङ्गो लगाई सक्ने नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी बताउँछन् ।

वडा, गाउँ र नगरपालिकामा कमिटी गठनसंगै तीन तहकै निर्वाचन लक्षित अभियान माओवादी केन्द्रले शुरु गरेको सन्देश दिएको छ । नयाँ संविधान अनुसारको संरचनामा पार्टी रुपान्तरण र संविधान कार्यान्वयनमा सहयोग पु¥याउने उदेश्यले वडा, गाउँ र नगरपालिकामा सम्मेलन गरेर कमिटी गठन कार्य करिव अन्तिम चरणमा पुगेको संयोजक जिसीले जानकारी दिए ।

प्रस्तावित ८ गाउँपालिका र नगरपालिकाहरुको कमिटीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले जिम्मेवारी पाएका व्यक्तिका अनुहार देखिएका छन् । प्रस्तावित वीरेन्द्रनगर नगरपालिका कमिटीको अध्यक्षमा दानसिंह सुनार, चौकुने गाउँपालिकाको अध्यक्षमा खड्क विवश बासपाने, पञ्चपुरी नगरपालिकाको अध्यक्षमा केशव शाही र बराह गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत निर्वाचित भएका छन् ।

यस्तै, भेरीगंगा नगरपालिकाको अध्यक्षमा नरेन्द्र कार्की, लेकवेशी नगरपालिकाको अध्यक्षमा खड्क घर्ती, गुर्भाकोट नगरपालिकाको अध्यक्षमा हिराबहादुर थापा र चिङ्गाड गाउँपालिकाको अध्यक्षमा सम्मर विक छन् । बाँकी रहेको सिम्ता गाउँपालिकामा १६ गते मात्रै कमिटी गठन गर्न लागिएको छ । माओवादीले अबको निर्वाचनमा पराजय भोग्छ भन्ने तुष हटाउन आफ्ना गतिविधिहरुलाई सक्रिय रुपमा अघि बढाएको स्रोतले बतायो ।

तीनै तहको निर्वाचनमा माओवादीले आफ्नो जितलाई सुनिश्चित गर्न र संविधान कार्यान्वयनलाई मद्दत पु¥याउन कमिटीलाई सक्रिय बनाउँदै लगेको एक माओवादी नेता बताउँछन् । उनका अनुसार कमिटीमा चयन भएका अध्यक्षहरुलाई नै आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयर बनाउन टिकट दिलाउने सम्भावना पनि उत्तिकै छ ।

‘माओवादीले तीन तहकै निर्चाचनमा आफ्नो वर्चश्व कसरी कायम राख्न आफ्ना संगठनलाई मजवुत बनाउन वडादेखी जिल्लामा रहेका संगठनहरु विस्तारमा जोड दिएको हो’ ति नेताले भने । माओवादी चिरा चिरा भएपछि नागरिकप्रति वितृष्णा उत्पन्न भएपछि माओवादी पार्टीको योजना र भूमिका विषयमा आफ्ना कार्यकर्ताको घरदैलोसम्म लैजान पनि वडा, गाउँपालिका र नगरपालिकामा सक्रिय भएको उनको तर्क छ ।

तर माओवादी केन्द्र सुर्खेतका संयोजक जिसीले भने संविधानले व्याख्या गरे अनुसारको संरचना अनुसार पार्टीलाई रुपान्तरण गरेको र गाउँपालिको अध्यक्ष र नगरपालिका मेयर बनाउनकै लागि मात्र कमिटी गठन नगरिएको प्रतिक्रिया दिए । उनले यही फागुन २१ र २२ गते सुर्खेतमा हुने जिल्ला सम्मेलनको लागि प्रतिनीधि छनौट, आफ्ना संगठनलाई सक्रिय बनाउन वडा तहदेखी यो अभियानलाई निरन्तरता दिएकोले तत्काल उनीहरुले नै गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयर भनिहाल्न नमिल्ने उल्लेख गरे ।

 गाउँपालिकाको कमिटीमा १३५ र नगरपालिकाको हकमा २५५ सदस्यीय रहने छन् । कमिटीमा ९० प्रतिशत निर्वाचित र बाँकी १० प्रतिशत सदस्यहरु मनोनित हुने पार्टीको विधानमा उल्लेख गरिएको संयोजक जिसीले जानकारी दिए । जिल्ला सम्मेलनमा ९ ओटै तहबाट ४५० जना प्रतिनीधीहरु सहभागी हुनेछ । यी मध्य ५० जना परिवर्यक्षक हुन ।

यसैविच, फागुन २१ र २२ गते जिल्ला अधिवेशनको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै ल्याउने गृहकार्य शुरु भएको नेकपा मओवादी केन्द्र सुर्खेतका प्रचार विभागका प्रमुख हरिमाया शर्माले जानकारी दिईन । ‘हामी पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहाललाई नै ल्याउने गरी काम गरिरहेका छौं’ शर्माले भनिन्,–‘अवको एक दुई दिनभित्रमा को आउने भन्ने अन्तिम टुङ्गो लाग्छ ।’