☰ open Loading... 20 September 2024|  

निर्वाचनमा केन्द्रित हुन सहकारी मन्त्री थानीद्वारा निर्देशन
  | १५ फाल्गुन २०७३, आईतवार १७:२२

सुर्खेत ।  सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीले झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन आगामी बैशाख ३१ गते हुने भएकोले त्यसमा लाग्न सवै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आइतवार नेपाली कांग्रेस काफलकोट गाविसमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा मन्त्री थानीले नयाँ संरचना अनुसार हुन लागेको स्थानीय निर्वाचनमा पार्टीको पकड बनाउन गाउ स्तरीय नेता कार्यकर्ताहरुको बलियो भूमिका हुने बताए ।

मन्त्री थानीले २० बर्षपछि हुन लागेको निर्वाचनका लागि सवै तयार रहन सुझाव दिदैं नेता कार्यकर्तालाई विकासभन्दा संगठन विस्तारमा लाग्न अपिल गरे । उनले भने, ‘विकासको चिन्ता तपाईं नगर्नुस्, मैले गर्छु, तपाईंहरु संगठन बलियो बनाउन लाग्नुस् ।’ जनताको आवश्यकता र मागका आधारमा विकास भइरहेको चर्चा गर्दै उनले विकासका कामप्रति पनि सजग रहन आग्रह गरे । तराईका दलहरुलाई पनि निर्वाचनमा ल्याउने वातावरण सरकारले तयार पारिरहेको  उनको भनाइ छ ।

कांग्रेस कालफलकोट गाउँ समितिका सभापति हरिबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पूर्व सचिव टेकबहादुर सिंह, जिल्ला सदस्य वीरेन्द्र रावत, राकम गाउ“ सभापति राजेन्द्र सिंहलगायतले बोलेका थिए ।

यसैगरी मन्त्री थानीले आइतवार नै रामक जामुने बजारस्थित सिम्ता स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सरकारले सहकारीमैत्री ऐन ल्याउने तयारी गरिरहेको जनाए । उनले गरिवी निवारणमा उल्लेखनीय भूमिका निभाउने सहकारीहरुको विकासका लागि सरकारले सहकारीमैत्री ऐन ल्याउने जानकारी दिए । सहकारीभित्रका विकृति हटाउन पनि सो ऐनले सघाउने उनको भनाइ छ ।