☰ open Loading... 18 October 2024|  

शौचालय बनाउन खाल्डो खन्दा भेटियो मानव कङ्काल
  | १७ फाल्गुन २०७३, मंगलवार १४:२४

जुम्लाको चन्दननाथ नगरपालिका–५ भारतीबाडामा शैचालयको खाल्डो खन्दा मानव कङ्गाल फेला परेका छन् । मंगलबार बिहान शौचालयकालागि सेफ्टी ट्याङ्की निर्माण गर्न खाल्डो खन्ने क्रममा तीनवटा मानव अस्थीपञ्चर फेला परेका हुन् ।

खाल्डो खन्दै जाँदा करिब ९ फिट गहिराईमा ढुङ्गाको घेरो लगाएर राखिएको अवस्थामा मानव अस्थीपञ्चर भेटिएको स्थानीय शिवलाल डांगीले बताए । मावन कङ्काल सयौं वर्ष पुराना हुन सक्ने अनुमान गरिएको छ ।

महरी र भण्डारीको वस्ती रहेको उक्त क्षेत्रमा धेरै पहिले चिहान रहेको डांगीको भनाइ छ । स्थानीय जुगाडको खोला बगिरहेको भारतीबाडामा धेरै वर्ष पहिले तलाउ रहेको समेत बताइएको छ । ‘पहिले यहाँ तलाउ थियो,’ उनले भने, ‘खोला किनारमा रहेका ओढारहरुमा मानिसहरु बस्ने गर्दथे । ’


मानव कङ्कालहरु निकै पुराना भएको डांगीको भनाइ छ । भेटिएका मानव कङ्काललाई बोरामा हालेर सुरक्षित राखिएको छ । धेरै भेटिएमा संग्रहालयको रुपमा विकास गर्न पहल गर्नुपर्ने स्थानीयको धारणा रहेको छ ।

अन्नपुर्ण पाेस्ट