सुर्खेत । कुनाथरीको चेपाङ्गमा सम्पन्न गाविस स्तरिय १२ औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा २७ अंक सहित मावि कुनाथरी प्रथम भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा २४ अंक सहित मावि चेपाङ्ग द्वितीय भएको छ भने १९ अंक प्राप्त गरी निमावि कुम्भीकोट तृतीय भएको हो ।
फागुन १८ गते देखि सञ्चालित उक्त प्रतियोगिताको शुक्रबार एक भव्य कार्यक्रमका वीच सम्पन्न भएको मावि चेपाङ्गका प्रधानाध्यापक पूर्णबहादुर बोगटीले जानकारी दिए । उनले प्रतियोगितमा १२ वटा विद्यालयका दुई सय ५४ जना प्रतियोगीको सहभागिता रहेको बताए । उनका अनुसार उक्त प्रतियोगितामा एक सय ३४ जना छात्राहरुले विभिन्न खेलमा भाग लिएका थिए ।
कुनाथरी गाविसमा प्रावि–७, निमावि–२ र मावि–३ गरी १२ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । गाविस स्तरीय उक्त प्रतियोगितामा ४४ वटा विभिन्न विद्याका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो । समापन कार्यक्रमा गाउँ शिक्षा समितिका अध्यक्ष आन्नद चपाई, विद्यालय स्रोत व्यक्ति दोर्ण पाठक, ग्लोवल एक्सनका कार्यक्रम संयोजक यादव भुसालले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।